काठमाण्डौ । आजदेखि भदाै ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका छन् ।
यसपटकको अटो शोमा १२५ भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको छ। विभिन्न कम्पनीका ३० भन्दा बढी सवारीसाधनका ब्रान्डहरूले आफ्ना नयाँ मोडेल सार्वजनिक गर्नेछन्। प्रदर्शनीमा इलेक्ट्रिक, हाइब्रिड तथा स्मार्ट मोबिलिटी समाधानका साथै विशेष आकर्षणको रूपमा विन्टेज मोटर शो पनि राखिएको छ।
प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् ।
आयोजक नाडाका अनुसार प्रदर्शनीमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे तथा व्यावसायिक सवारी साधनहरूका लागि छुट्टाछुट्टै जोनहरू बनाइएका छन्। साथै अटो पाट्स, एसेसरीज, लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण, तथा विभिन्न वित्तीय सेवादाताहरूले समेत आफ्नो स्टल राखेका छन्।
अटो शोले नेपालमा प्रविधि–मैत्री र हरित यातायात प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा आयोजकले व्यक्त गरेका छन्। भृकुटीमण्डपमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि प्रदर्शनी खुला रहनेछ।
अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले वार्षिक रूपमा आयोजना गर्ने यो प्रदर्शनी भदौ ८ गतेसम्म चल्नेछ।

अर्थ चौतारी ।