विराटनगर । उच्च अदालत विराटनगरले मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थामा भएको ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई एक करोड धरौटी माग गरेको छ। मोरङ जिल्ला अदालतले १० लाख धरौटीमा छोड्न गरेको आदेश उच्च अदालतले बिहीबार उल्ट्याएको हो। उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासले बिहीबार कोइरालासहित चार प्रतिवादीलाई १–१ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको अदालतका रजिस्ट्रार जगदीश भट्टले जानकारी दिए।
यसअघि जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले २०८१ पुस २४ गते अञ्जलालाई १० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो। त्यस्तै ज्योति बाँस्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख रुपैयाँमा धरौटीमा छोड्ने आदेश दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दिँदै प्रतिवादीहरूलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेको थियो।
त्यही निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले अञ्जला कोइराला, रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बाँस्कोटाको हकमा जिल्लाको आदेश बदर गर्दै १–१ करोड धरौटी तोकेको हो। सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियारलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश भने सदर भएको छ। वैशाख ११ गते न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासमा धरौटी रकमबारे राय बाझिएपछि यो निवेदन तेस्रो न्यायाधीशकहाँ पेस गरिएको थियो।
बाँस्तोलाले १–१ करोड धरौटी माग्नुपर्ने राय दिएका थिए भने पुडासैनीले जिल्लाकै आदेश सदर गर्ने मत राखेकी थिइन्। तेस्रो न्यायाधीश अर्यालले बास्तोलाको रायलाई सदर गर्दै एक करोड धरौटी तोक्ने आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए। धनपालथानमा सञ्चालित उमागौरी सहकारीका ८ हजार ८४२ शेयर सदस्यको जम्मा २२ करोड ४८ लाख २७ हजार रुपैयाँ अपचलन भएको प्रमाणित भएपछि गत मंसिरमा २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरिएको थियो।