काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् । काठमाण्डौको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालको संयुक्त रूपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनले बताए ।‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौ । हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि एटोमोवाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टि गर्छ,’ उनले भने । उनले २०७० यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे । १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ रहेको छ ।
‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन । सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टीकृत कम्पनी स्थापना गर्दैनथ्यो । कुनै पनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन् । विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी) रेसियो लगाएका छन्,’ उनले भने, ‘नेपालमा व्यक्तिगत र व्यवसायीक गाडीमा फरक एलटिपी लगाउन सकिन्छ । व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ । तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ । त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी व्याज लगाउँछन् ।’
नेपालमा ०४१/०४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदासम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे । ‘गाडी खरिद गर्नको लागि त ऋण लिनै हुँदैन भन्ने थियो । अहिले त्यसको उल्टो भएको छ । गाडी किन्न पुरै नगद दिने होइन, किस्ताबन्दीमा दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । कनेक्टिभिटी आवश्यकता नै छ भनेर बैंकहहरुलाई कर्जा प्रवाहमा सहज बनाएको छ,’ उनले भने, ‘अहिलेको मौद्रिक नीतिमा हायरपर्चेज कर्जा सहज बनाउने उल्लेख गरेको छ । हायरपर्चेज कर्जा दिने कम्पनीको विषयमा अध्ययन गरेर व्यवस्थित र प्रोत्साहन गर्छ । राष्ट्र बैंकले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छैन ।’
नेपालमा उत्पादन गर्ने उद्योगहरूलाई बैंकहरुले सहजरुपमा कर्जा दिने गरेको उनले बताए । उत्पादनमूलक उद्योगले २ करोड रूपैयाँसम्म कर्जा लिँदा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर ब्याजदर लिने गरेको उनको भनाइ छ ।
अर्थ चाैतारी ।