logo

२०८२ पुस ३०, बुधबार

logo
  • २०८२ पुस ३०, बुधबार
  • भाद्रकृष्ण औँसीमा पितृप्रति श्रद्धा व्यक्त गर्न गोकर्णेश्वरमा भक्तजनको घुइँचो

    भाद्रकृष्ण औँसीमा पितृप्रति श्रद्धा व्यक्त गर्न गोकर्णेश्वरमा भक्तजनको घुइँचो

    637
    SHARES
    भाद्रकृष्ण औँसीमा पितृप्रति श्रद्धा व्यक्त गर्न गोकर्णेश्वरमा भक्तजनको घुइँचो

    काठमाण्डौ । दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न भाद्रकृष्ण औँसीका दिन काठमाडौँको गोकर्णेश्वर उत्तरगया पितृतीर्थमा आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ।



     

     

    वैदिक विश्वासअनुसार यस दिन गोकर्णेश्वरमा श्राद्ध र पिण्डदान गरेमा २१ पुस्ताअघिदेखिका पितृ तर्ने मान्यता रहेकाले भक्तजन बिहानैदेखि गोकर्णेश्वर मन्दिरमा दर्शन, पूजाआजा र दानदक्षिणा गर्न पुगेका हुन्। हिन्दू धर्मावलम्बीसँगै बौद्धमार्गी भक्तजनको पनि उत्तिकै उपस्थिति रहेको छ।

     

     

    भीड व्यवस्थापनका लागि सुन्दरीजल–जोरपाटी र वाग्मती कोरिडोरतर्फका सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ। मेला अवधिभर यातायात, स्वास्थ्य, खोजतलास तथा स्वयंसेवक सेवा सञ्चालन गरिएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए।

     

     

    मन्दिरका पूजारी जगदीश भट्टका अनुसार सत्ययुगमै ब्रह्माले स्थापना गरेको यस तीर्थस्थलमा पितृलाई अर्पण गरेमा अगति पितृहरू पनि तर्ने धार्मिक विश्वास छ।

     

     

    तर, भक्तजनले गोकर्णेश्वर क्षेत्रमा पर्याप्त व्यवस्थापन नहुँदा असुविधा भोग्नुपरेको गुनासो गरेका छन्। डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकीले साँघुरो बाटो र सवारी व्यवस्थापन अभावका कारण मन्दिर पुग्दा समस्या भएको बताए। धेरै भक्तजनले तीन तहका सरकार कसैको पनि ध्यान तीर्थस्थलको व्यवस्थापनतर्फ नपुगेको दुखेसो पोखेका छन्।

     

     

    बौद्ध धर्मावलम्बीका लागि पनि यो दिन विशेष छ। एक वर्षभित्र पिताको निधन भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध, पूजाआजा र भोज गर्ने परम्परा रहेको बौद्ध गुरु डुण्डुप लामाले बताए। उनीहरूका अनुसार यस दिन गोकर्णेश्वरमा दर्शन गरे दिवङ्गत पिताको स्वरूप दर्शन हुने विश्वास गरिएको छ।

     

     

    भक्तजनको भीडका कारण यो औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने भएकाले पशुपति दर्शन गर्न आउनेले गोकर्णेश्वरको पनि दर्शन गर्नुपर्ने मान्यता रहेको छ।

     

     

    आजैको दिनलाई हिन्दू धर्मावलम्बीले कुशे औँसीका रूपमा पनि मनाउँछन्। यस दिन घरमा धार्मिक कर्मका लागि कुश भित्र्याउने र कुशलाई भगवान विष्णुको स्वरूपका रूपमा पूज्ने परम्परा छ। साथै, आफ्ना बाबुलाई भोजन अर्पण गरी बाबुको मुख हेर्ने पर्व पनि देशभर धुमधामले मनाइँदैछ।


    अर्थ चौतारी
  • शनिबार, ७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट