काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विगत एक वर्षको तुलनामा विद्युत् अवरोध (ट्रिपिङ) मा उल्लेख्य कमी आएको दाबी गरेका छन् । स्मार्ट मिटरबाट प्राप्त तथ्यांकलाई आधार मान्दै शाक्यले झ्याप–झ्याप बत्ती जाने जनगुनासो निराधार भएको र वस्तुगत तथ्यांकले सुधार स्पष्ट देखाएको बताएका हुन् । उनका अनुसार ‘स्मार्ट मिटरले झुटो बोल्दैन’ भन्ने भनाइलाई पुष्टि गर्दै देशभरका स्मार्ट मिटरबाट संकलित तथ्यांकले विद्युत् आपूर्तिको विश्वसनीयता बढेको देखाएको छ ।
कार्यकारी निर्देशक शाक्यले केही दिनअघि पत्रकारहरूलाई दिएको विवरणअनुसार गत आर्थिक वर्ष २०८१ साउन महिनाको तेस्रो हप्तामा औसतमा १२.३ पटक गरी जम्मा पाँच घण्टा विद्युत ट्रिपिङ भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउन तेस्रो हप्तासम्म यो आँकडा ८.५ पटक र २.४७ घण्टामा झरेको उनले दाबी गरे । यसले ट्रिपिङको संख्या र अवधि दुवैमा झन्डै आधाले कमी आएको बताए ।
आफू जिम्मेवारीमा आएपछि विद्युत झ्याप–झ्याप जान्छ भन्ने आरोप खण्डन गर्दै उनले गत आर्थिक वर्षको साउन २१ गतेपछि औसतमा हप्तामा १४.१ पटक विद्युत् गएर ५.१ घण्टासम्म अवरुद्ध भएको तथ्यांक रहेको पनि बताए । तर, चालु आर्थिक वर्षको पहिलो महिना साउनको अन्तिम हप्तामा जम्मा ८.३ पटक अर्थात् २.५ घण्टा मात्रै विद्युत् अवरुद्ध भएको उनले उल्लेख गरे । यो तथ्यांकले गत वर्षभन्दा आधा विद्युत् कम गएको पुष्टि गर्ने उनको भनाइ छ ।
शाक्यले तथ्यांकमा आधारित बोल्न आग्रह गर्दै भने, ‘आरोपभन्दा पनि डाटामा जाऔं । विगतको तुलनामा विद्युत् ट्रिपिङ कम भएको छ ।’ उनले स्मार्ट मिटर प्रणालीको विस्तार र पूर्वाधार सुधारका प्रयासहरूले विद्युत् आपूर्तिको गुणस्तरमा सकारात्मक प्रभाव पारेको पनि दाबी गरे । प्राधिकरण विद्युत् आपूर्तिलाई थप विश्वसनीय र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उनको भनाइ थियो । त्यस्तै बागमती प्रदेश कार्यालयअन्तर्गत बानेश्वर वितरण केन्द्रले पनि उक्त तथ्यलाई पुष्टि हुने गरी तथ्यांक सार्वजनिक गरेको छ ।
बानेश्वर वितरण केन्द्रले काठमाण्डौ उपत्यकामा पनि विद्युत् आपूर्तिको विश्वसनीयता बढेको देखाएको हो । यद्यपि २०८२ असारमा एकैदिन बानेश्वर क्षेत्रका ४ वटा ट्रान्सफर्मरमा समस्या आई ४ घण्टा ६ मिनेटसम्म विद्युत् आपूर्ति रोकिएको थियो । केन्द्रमा एकै दिन १३१ वटा ‘नो लाइट’ सम्बन्धी उजुरी दर्ता भएका पनि जानकारी दिएको छ । प्राधिकरणले विद्युत् ट्रिपिङ समस्या औसत ५५ मिनेटमा समाधान गर्ने गरेको छ ।
वितरण केन्द्रका अनुसार विद्युत् आपूर्तिको विश्वसनीयता मापन गर्न प्रयोग गरिने सूचकांकअनुसार गत आर्थिक वर्षमा यस केन्द्रको क्षेत्रभित्र ७५ पटक विद्युत् अवरुद्ध भएको थियो । तर चालु आर्थिक वर्षमा यो संख्या ७० पटकमा झरेको केन्द्रले जनाएको छ । त्यसैगरी विद्युत् अवरुद्ध हुने कुल समय पनि ३२ घण्टाबाट घटेर २४ घण्टामा आएको देखाइएको छ । यसबाट उपभोक्तालाई करिब २५ मिनेटको फरकमा विद्युत् गएको जानकारी दिइएको छ । जसले सूचना प्रवाहमा समेत सुधार भएको देखाउँछ ।