काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत् आयोजनाहरूका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए ।
अध्यक्ष गणेश कार्कीले जेनजी युवाहरूको नाममा जलविद्युत् आयोजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशीघ्र आयोजना सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग माग गरेका थिए । इप्पानका कुरा सुनेलगत्तै गृहमन्त्री अर्याललले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी भोटेकोशी जलविद्युत् आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । ‘जेनजी युवाहरूले माग राख्न पाउँछन्, जायज मागहरू भए वार्ता र छलफलबाट पूरा गर्न सकिन्छ । आयोजनाको उत्पादन नै बन्द गराउन त भएन,’ गृहमन्त्री अर्यालले प्रजिअ बास्तोलालाई भने, ‘तपाईंले आयोजना सञ्चालनमा ल्याउन सक्नुहुन्न भने गृहले के सहयोग गर्नुपर्छ रिपोर्टिङ गर्नुस्, तर विद्युत् उत्पादन रोकिनुभएन ।’
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सिन्धुपाल्चोकमा सञ्चालित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनामा जेनजी युवाहरूलाई १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग राखी भदौ २५ गतेदेखि आयोजनाको विद्युत् उत्पादन बन्द गराएका छन् । पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने वर्षायाममा आयोजनाले दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्दै आएको थियो । पछिल्लो २८ दिनदेखि आयोजना बन्द हुँदा करिब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउनुपरेको आयोजना प्रवर्द्धक भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।
जेनजी युवाहरूले १० प्रतिशत निःशुल्क सेयर नदिएसम्म भोटेकोशीबाट विद्युत उत्पादन गर्न नदिने धम्कीसहितको पत्र कम्पनीलाई पठाएका थिए । जेनजीको नाममा २८ दिनसम्म आयोजना बन्द हुँदा पनि आयोजना सञ्चालनमा ल्याउन नसक्दा यही मौकामा स्थानीयहरूले सिन्धुपाल्चोकका अन्य जलविद्युत् आयोजनामा पनि १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग राखी पत्र पठाएका छन् । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत् आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भएकाले राज्यले जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा दिनुपर्ने बताए । निजी क्षेत्रले १५ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेर ३ हजार मेगावाट विद्युत् उत्पादन गरिरहेको भन्दै राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसके निजी क्षेत्रले काम गर्न नसक्ने डाँगीको भनाइ थियो ।
माथिल्लो बलेफीका सञ्चालक मोहन विक्रम कार्कीले जलविद्युत् उत्पादकको मनोबल गिराउने काम भएकोले यस्तो वातावरणमा कुनै पनि प्रवर्द्धकहरूले थप लगानी गर्न नसक्ने बताए । जेनजी युवाहरूले सञ्चालनमा आइसकेको २२ दशमलव २ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले १० प्रतिशत फ्री सेयर नदिए यही असोज ३० गतेदेखि आयोजनाको विद्युत् उत्पादन बन्द गराउने पनि धम्की दिएका छन् ।
अहिले सिन्धुपाल्चोकमा सञ्चालनमा आइसकेका ३६ मेगावाटको माथिल्लो बलेफी ए, ७ दशमलव २ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटका सोलाङ खोला र घट्टेखोला जलविद्युत् आयोजनामा पनि १० प्रतिशत निःशुल्क सेयर माग गरिएको छ । त्यस्तै अन्य निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा २२ दशमलव १४ मेगावाटको बलेफी ए, १ दशमलव ५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला, ६५ मेगावाटको दुधखोला लगायत आयोजनामा पनि १० प्रतिशत फ्री सेयर माग्दै जेनजी र स्थानीय युवाहरूको नामबाट पत्र काटिएको छ ।
अर्थ चाैतारी ।