काठमाण्डौ । विश्वव्यापी रूपमा तीव्र गतिमा कारोबार विस्तार गरिरहेको रेमिटेन्स तथा भुक्तानी प्लेटफर्म आयोरेमिटले प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’ मा ‘एमएसबी ग्लोबल’ उपाधि जितेको छ । बेलायतको वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा उत्कृष्ट उपलब्धि र नवीनतालाई सम्मान गर्ने उद्देश्यले लन्डनमा आयोजना गरिएको भव्य समारोहबिच आयोरेमिटलाई यो सम्मान प्रदान गरिएको हो ।
‘ब्रिट फिनटेक अवार्ड’ बेलायतको वित्तीय प्रविधि उद्योगमा उत्कृष्टता, नवप्रवर्तन र प्रभावलाई मापन गर्ने सबैभन्दा प्रतिष्ठित सम्मानहरूमध्ये एक मानिन्छ। आयोरेमिटलाई यो अवार्ड मनी सर्भिस बिजनेस सञ्चालनमा देखाएको नवीन दृष्टिकोण, बलियो नियमन संरचना, पारदर्शिता र ग्राहक सन्तुष्टिका आधारमा छनोट गरिएको हो ।
कल्पित भण्डारी र प्रसुन भण्डारीद्वारा स्थापित आयोरेमिटको मुख्य कार्यालय बेलायतमा रहेको छ भने यसका क्षेत्रीय कार्यालयहरू अष्ट्रेलिया र साइप्रसमा रहेका छन् । हाल विश्वव्यापी रूपमा तीव्र गतिमा सेवा विस्तार गर्दै आएको यस कम्पनीले छिटो, सुलभ र सुरक्षित माध्यमबाट समुदायहरूलाई जोड्ने आफ्नो मिसनलाई यो पुरस्कारले अझ सुदृढ पारेको बताइएको छ ।
आयोरेमिटका सह–संस्थापक प्रसुन भण्डारीले भने, “यो पुरस्कार हाम्रा ग्राहकहरूको विश्वास र हाम्रो सम्पूर्ण टिमको अथक समर्पणको प्रतिबिम्ब हो। हामी सीमापार भुक्तानीलाई सबैका लागि सरल र सुलभ बनाउन प्रतिबद्ध छौँ। यो सम्मानले हामीलाई विश्वभर छरिएका नेपालीहरूलाई अझ सुरक्षित र नवीन वित्तीय समाधानहरू उपलब्ध गराउन थप प्रेरणा दिएको छ।”