काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी कार्ड सुविधा प्रदान गर्ने उद्देश्यले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग ‘नेसनल कार्ड स्वीच’ तथा ‘नेपालपे कार्ड’को प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरेको छ।
कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए। यस सम्झौतासँगै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब एनसीएचएलको राष्ट्रिय कार्ड स्वीच प्रणालीमा आबद्ध भएको छ।
बैंकका ग्राहकहरूले अब ‘नेपालपे कार्ड’ प्राप्त गर्न सक्नेछन् र यस कार्ड प्रयोग गरी देशभरका विभिन्न व्यापारीक स्थल तथा डिजिटल भुक्तानी प्लेटफर्महरूमा भुक्तानी गर्न सकिनेछ। एनसीएचएलको यस प्रणालीले एनपीएस–एनसीएस विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गर्ने, डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टलाई सहज बनाउने र डिजिटल भुक्तानी इकोसिस्टममा नवीनतम उपकरणहरूको विकासलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
हाल एनसीएचएलको प्रणालीमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरू आबद्ध छन्। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले देशभर ८८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा १८ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले यस सहकार्यमार्फत आफ्नो डिजिटल भुक्तानी पहुँच थप विस्तार गर्ने लक्ष्य राखेको छ।
बैंकका अधिकारीहरूका अनुसार, ‘नेपालपे कार्ड’ प्रणालीको कार्यान्वयनले ग्राहकहरूको डिजिटल भुक्तानी अनुभवलाई सहज, सुरक्षित र द्रुत बनाउनेछ। साथै, घरेलु कार्ड कारोबारको लागत घट्ने र भुक्तानीसम्बन्धी डाटा राष्ट्रिय स्तरमा सुरक्षित राख्न सकिनेछ। यसले देशमा डिजिटल भुक्तानी प्रविधिको विकास र समावेशीतालाई पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको यो कदमले देशको वित्तीय प्रणालीमा डिजिटलकरणको प्रवृत्तिलाई थप बलियो बनाउने र ग्राहकहरूको लागि आधुनिक भुक्तानी सुविधा उपलब्ध गराउने ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।
अर्थ चौतारी ।