काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्योगी तथा व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। शनिबार काठमाण्डौमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’ पछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिएर अघि बढ्न निजी क्षेत्रलाई आग्रह गरेका हुन्।
गभर्नर पौडेलले नयाँ व्यवसायहरू सिर्जना गरेर अघि बढ्न सकेमा नेपालको उद्योग व्यवसायमा सुधार हुने अवस्था रहेको बताए। उनले अहिले मुलुकमा वैधानिक सरकार रहेको र केही समयपछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासका लागि निजी क्षेत्रले निराश भएर बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे।
उनले भने, ‘इकोनोमीमा मनोबलको एकदमै ठुलो काम हुन्छ। हामीसँग पैसा पनि छ, गभर्नेन्स पनि छ। अब फेरि निर्वाचित सरकार आउँछ। भारतले, चीनले विकास गरेका छन्। हामी दुःखी किन हुनुपर्यो?’ उनले नेपालीहरू सारा विश्वभर फैलिएको भावना लिएर काम गरेमा अर्थतन्त्र माथि जाने विश्वास व्यक्त गरे।
गभर्नर पौडेलले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन कालोसूची बाधकको रूपमा देखिएको उल्लेख गर्दै त्यो समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
अर्थ चौतारी ।