काठमाण्डौ । नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्ट्सको आयोजनामा आगामी मंसिर २ गतेदेखि ५ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजना हुने भएको छ।
संस्थाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रोशन पोखरेलले सम्मेलनको उद्देश्य कर शिक्षा र क्षमता विकास, सरकारी निकायसँग नीतिगत संवाद र कर प्रणाली सुधारतर्फ योगदान पुर्याउनु रहेको बताए।
“यो सम्मेलन नेपालको कर प्रणालीको विकसित रुप प्रस्तुत गर्ने, नेपाली कर व्यवसायीलाई अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूसँग जोड्ने र नेपाललाई ‘माइस’ (MICE) गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजना हुँदैछ,” पोखरेलले भने।
उनका अनुसार सम्मेलनमा ३५० जना अन्तर्राष्ट्रिय प्रतिनिधि तथा २०० भन्दा बढी नेपाली कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी र विज्ञहरूको सहभागिता रहनेछ।
सम्मेलनले नेपालको कर र वित्त व्यवसायीको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय कर अभ्यास आदान–प्रदान, तथा कर नीति र अनुपालन सुधारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। यसमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा सहयोग पुग्ने आयोजकहरूको विश्वास छ।
चार दिन चल्ने कार्यक्रममा विकासशील देशहरूको कर प्रणाली, उदाउँदो अर्थतन्त्रमा कर नीति कार्यान्वयनका चुनौती, विश्वव्यापी कर अनुपालन, कर प्रशासनमा डिजिटल रूपान्तरण, तथा कर व्यवसायीहरूको आचारसंहिता र जिम्मेवारीजस्ता विषयमा बहस हुनेछ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा मंसिर ५ गते, आन्तरिक राजस्व विभागसँग सहकार्यमा ‘प्राक्टिकल एस्पेक्ट अफ ट्रान्सफर प्राइसिङ’ विषयमा चार घण्टे सेमिनार आयोजना गरिनेछ।
यो सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसनको समन्वयमा सञ्चालन हुनेछ। नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स सन् २०१८ मा स्थापना भएको हो र संस्थाले कर नीति, व्यवसायी विकास र अन्तर्राष्ट्रिय कर अभ्यासमा अध्ययन तथा सहकार्य गर्दै आएको छ।
अर्थ चौतारी ।