काठमाण्डौ । निर्माण व्यवसाय विकास परिषद्ले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा १ करोड रुपैयाँ जम्मा गरेको छ। परिषद् मातहतको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम हस्तान्तरण गरिएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा परिषद्का अध्यक्ष कुलमान घिसिङले उक्त रकमको चेक शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई बुझाएका छन्। सो कोषमा हालसम्म जम्मा भएको रकम ७ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त सार्वजनिक र सरकारी संरचनाको पुनर्निर्माण प्रभावकारी बनाउने उद्देश्यले अर्थमन्त्रीको अध्यक्षतामा भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ। समितिको पछिल्लो बैठकले कोषको रकम इन्जिनियरिङ डिजाइन, पुनर्निर्माण प्रतिवेदन तयारी, तत्काल मर्मतसम्भार, तथा आर्थिक पुनरुत्थान र राहत कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ।