काठमाण्डौ । ‘जेनजी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालविरुद्ध ४३ करोड रुपैयाँ बराबरको भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरेको छ। बुधबार अख्तियारमा उजुरी दर्ता गरिएको मुभमेन्टका प्रवक्ता विजय शाहले जानकारी दिए।
उजुरीमा भारतीय कम्पनी पीटीसीसँग गरिएको विद्युत् खरिद सम्झौता हतारमा र अपारदर्शी तरिकाले सम्पन्न गरिएको दाबी गरिएको छ। प्राधिकरणले ६.७४ भारतीय रुपैयाँमा पाइने प्रस्तावलाई ६.९५ भारतीय रुपैयाँमा स्वीकृत गरी राज्यलाई करिब ४३ करोड रुपैयाँ नोक्सान पुर्याएको आरोप उजुरीमा उल्लेख रहेको उनले बताए ।
मुभमेन्टका अनुसार, घिसिङ–सिलवालले पारिवारिक तथा नातागत प्रभाव प्रयोग गरी अनुसन्धान रोक्ने प्रयास गरेको दाबी पनि उजुरीमा समावेश छ। जेनजी मुभमेन्टले अख्तियारमार्फत प्रारम्भिक छानबिन गरी संलग्न अधिकारीविरुद्ध मुद्दा दायर गर्न, आवश्यक कानुनी सजाय दिलाउन तथा राज्यलाई भएको बिगो असुल गर्न माग गरेको जनाएको छ।