काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन प्रवर्द्धन र आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको बताएका छन्। लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई भैरहवामा सम्बोधन गर्दै उनले सरकारले चुनौतीपूर्ण अवस्थालाई पार गर्दै सुरक्षा वातावरण सामान्य बनाउन सफल भएको दाबी गरे।
उनका अनुसार विभिन्न बहानाबाट “चुनाव हुँदैन” भन्ने धारणा सार्वजनिक रूपमा फैलाइए पनि सरकार आफ्नै कामबाट त्यसको जवाफ दिन तयार छ।
अर्यालले लुटिएका हतियार फिर्ता ल्याउने र फरार कैदी-बन्दी समात्ने अभियानले ठूलो सफलता हासिल गरेको जानकारी दिए। उनले हालको सरकार जनआन्दोलनपछिको विशेष परिस्थितिमा बनेको भन्दै “हामी कसैको इच्छाले आएका होइनौँ, परिस्थितिले जिम्मेवारी दिएको हो,” भनेर स्पष्ट पारे।
लुम्बिनी प्रदेश राजस्व चुहावटको जोखिममा परेको उल्लेख गर्दै गृहमन्त्रीले भन्सार र सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिए। सुशासनको जग कमजोर नहोस् भनेर राजस्व चुहावट नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाइने उनले बताए।
गोष्टिमा मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको रक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रण अहिलेको प्रमुख एजेन्डा भएको उल्लेख गरे। सुरक्षा क्षेत्रमै पनि आमूल सुधार आवश्यक रहेको उनले बताए।
कार्यक्रममा विभिन्न सुरक्षाप्रहरी प्रमुख, गृहसचिव तथा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो। गोष्ठीले प्रदेश सुरक्षा चुनौतीको मूल्यांकन गर्दै आगामी निर्वाचनका लागि रणनीति तय गर्नेछ।