logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • बुढीगण्डकी जलाशययुक्त आयोजना: ३ खर्ब ७४ अर्ब लागतको वित्तीय मोडालिटी सार्वजनिक

    बुढीगण्डकी जलाशययुक्त आयोजना: ३ खर्ब ७४ अर्ब लागतको वित्तीय मोडालिटी सार्वजनिक

    793
    SHARES
    बुढीगण्डकी जलाशययुक्त आयोजना: ३ खर्ब ७४ अर्ब लागतको वित्तीय मोडालिटी सार्वजनिक

    काठमाण्डौ । धादिङ र गोरखामा बन्ने बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय मोडालिटी सरकारले सार्वजनिक गरेको छ। आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) निर्धारण गरिएको छ। निर्माण अवधि ८ वर्ष रहनेछ।



     

    निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल लागत ४ खर्ब ६ अर्ब रुपैयाँ हुने अनुमान छ। मोडालिटीअनुसार कर्जा–इक्विटी अनुपात ७०:३० रहनेछ। प्रवर्द्धक बुढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत शेयर रहने व्यवस्था प्रस्ताव गरिएको छ।

     

    सरकारको तर्फबाट इक्विटीमा ९७ अर्ब ४७ करोड र सहुलियतपूर्ण कर्जामा १ खर्ब ५० अर्बसहित कुल २ खर्ब ४८ अर्ब लगानी हुनेछ। अहिले जारी पेट्रोलियम पूर्वाधार करमध्ये ५० प्रतिशत रकम आयोजनामा लगानी गर्ने प्रस्ताव छ।

     

    बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४ अर्ब ऋण जुटाइनेछ। यसका लागि ३० अर्ब रुपैयाँको ‘एनर्जी बण्ड’ जारी गर्ने व्यवस्था गरिएको छ।

     

     

    आयोजनाबाट हिउँदयाममा १ अर्ब ४१ करोड र वर्षायाममा १ अर्ब ९७ करोड युनिट गरी वार्षिक ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान छ। निर्धारण गरिएको विद्युत् दर हिउँदयाममा १२.४० रुपैयाँ र वर्षायाममा ७.१० रुपैयाँ प्रतियुनिट छ।

     

     

     

    हालसम्म ४२ अर्ब ६५ करोड रुपैयाँ जग्गा, संरचना र क्षतिपूर्ति रकमका रूपमा वितरण भइसकेको छ। आयोजनाबाट करिब ८ हजार ११५ घरपरिवार प्रभावित हुने छन्, जसमध्ये ३,५६० परिवार पूर्णरूपमा विस्थापित हुनेछन्।

     

     

    गोरखा–धादिङ सीमामा २६३ मिटर अग्लो आर्च बाँध निर्माण गरिनेछ, जसबाट करिब ६३ वर्ग किलोमिटर क्षेत्र जलाशयले ढाक्नेछ।

     

     

    अपर अरुण जलविद्युत् आयोजनाको लागत २ खर्ब १४ अर्ब

    सङ्खुवासभामा निर्माणाधीन १,०६३ मेगावाट क्षमताको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ७५ करोड डलर (झण्डै २ खर्ब १४ अर्ब) तय गरिएको छ।

     

    अपर अरुणमा पनि कर्जा–इक्विटी अनुपात ७०:३० हुने प्रस्ताव छ।
    इक्विटीको ५१% संस्थापक र ४९% साधारण शेयरका लागि छुट्याइनेछ।
    बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणबाट १ खर्ब ६८ अर्ब जुटाइनेछ।

     

    आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान छ।
    हाल परियोजना स्थलसम्म पहुँच सडक, स्टील आर्क पुल र अन्य पूर्वतयारी कार्य भइरहेको छ।


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार