काठमाण्डौ । सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले पनि उखु क्रसिङ सुरु गरेको छ। उद्योगमा सोमबार दिउँसोबाट उखु क्रसिङ सुरु गरिएको उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले जानकारी दिए।
महोत्तरीको गौशाला–१ रामनगरमा रहेको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले पनि हिजैदेखि उखु क्रसिङ सुरु गरिसकेको छ। इन्दु शंकर र एभरेस्ट देशकै सबैभन्दा ठूला चिनी उद्योग हुन्। यी दुवै उद्योगको दैनिक उखु क्रसिङ क्षमता ५० हजार क्विन्टलभन्दा माथि छ। ‘हामीले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका छौँ,’ इन्दु शंकरका प्रशासन प्रमुख नेपालले नेपालखबरसँग भने, ‘अबको झण्डै तीन महिनासम्म उद्योग सञ्चालन हुने अनुमान हाम्रो छ।’
इन्दु शंकरले गत वर्ष ३१ लाख क्विन्टल भन्दा धेरै उखु क्रसिङ गरेको थियाे। इन्दु शंकरले क्रसिङ भएको उखुको समयमै भुक्तानी दिँदै आएको छ। गत वर्ष उद्योगले किसानलाई एक सातामै उखुको भुक्तानी दिएको थियो। सर्लाही देशकै सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हाे। इन्दु शंकरले महाेत्तरी, राैतहटसहितका जिल्लाबाटसमेत उखु ल्याउने गरेको छ।
यस वर्ष उखुको मूल्य वृद्धि भएकाले किसान पनि उत्साहित छन्। सरकारले गत वर्षभन्दा प्रतिक्विन्टल ७० रुपैयाँ वृद्धि गरेर यस वर्षको लागि उखुको मूल्य निर्धारण गरेको छ। त्यसैगरि अघिल्लो सरकारले कटौती गरेको अनुदानको रकमलाई पनि निरन्तरता दिने निर्णय सरकारले गरेको छ।
२२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको छ। यो उद्योगीले किसानलाई दिने रकम हो। यसमा सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसमेत जोड्दा यसवर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल ६९० रुपैयाँ पाउने छन्।