काठमाण्डौ । सेयरबजार ३.२७ अंकले बढे पनि कारोबारको लय भने उस्तै छ। मंगलबार सूचक हरियो देखिए पनि सेयर किनबेचमा भने अघिल्ला दिनजस्तै अवस्था देखिएको हो।
नेप्से २५८४.४९ विन्दुमा चढेको दिन बजारमा ३ अर्ब ४२ करोडको मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ७६ लाख ६८ हजार कित्ता सेयर बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो। मंगलबारको यो कारोबारलाई भर्खरै सूचीकृत भएर कारोबार हुनथालेको एसवाई प्यानलले टेवा दिएको हो। यस दिन एसवाई प्यानलको मात्रै ३० करोडको कारोबार भएको छ। यसबाहेक अन्य कारोबार निकै कम परिमाणको छ।
नेप्सेका अनुसार सागर डिस्टिलरीको ८ करोड ५३ लाख, सीईडीबी होल्डिंग्सको ७ करोड ४३ लाख, लुम्बिनी विकास बैंकको ६ करोड ९६ लाख र मञ्जुश्री फाइनान्सको ६ करोड ८२ लाखको कारोबार भएको छ। यस कारोबारमा १३४ वटा सेयर अधिकतम ७.०१ प्रतिशतसम्म बढेको छ भने ११७ वटा सेयर अधिकतम ५.९७ प्रतिशतसम्मले घटेको छ। ८ वटा सेयर भने अघिल्लो मूल्यमा नै कारोबार भएको हो।
मंगलबार ६ वटा उपसूचकहरु घटेका छन् भने बाँकी बढेका छन्। अन्य सूचकमा १.२८ प्रतिशतको वृद्धि देखिए पनि अन्य उपसमूह हरियो मात्रै देखिएका छन्। करिब १ महिनायता सेयरबजारमा ८ अर्बभन्दा कमको कारोबार भइरहेको छ।
अर्थ चौतारी ।