काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ। कम्पनीले यही पुस ८ मा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यमा कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचलका पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष र सञ्चालकहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी मनाएको हो।
कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा अध्यगमन विभागका पदाधिकरीहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरु, बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएसओका प्रमुखहरु लगायत अन्य पदाधिकरीहरुको पनि विशेष उपस्थिति रहेको थियो। एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ्ग डिजिटाइज गर्न २०६८ मा एनसीएचएल–ईसीसीको सुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीतिअनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो।
विगत १७ वर्षको यात्रामा एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), नेपालपे क्यूआर, एनपीआईएक्स र ईएफटी कार्ड स्विच कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ। हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे कार्डको कमर्सियल रोलआउट समेत गरेको छ। वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका कर्मचारी छवि सापकोटा, हेड–पेमेन्ट सिस्टमलाई कम्पनीप्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरिएको थियो।
कार्यक्रममा एनसीएचएलका पूर्वअध्यक्षद्वय अनिल केशरी शाह र अशोक शमशेर जबरालाई एनसीएचएलको सञ्चालक समितिको स्थापक अध्यक्ष र तेस्रो अध्यक्षको रुपमा रही संस्था स्थापनाको लागि पुर्याएको योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै डेपूटी गभर्नरबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा एनसीएचएलले विभिन्न इनोभेटिभ डिजिटल प्रोडक्ट तथा सोलुसनहरुको अनावरण पनि गरेको छ। कार्यक्रममा सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकहरुका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंक लि. सँगको सहकार्यमा कर्पोरेटपे २.०, माछापुच्छ्रे बैंक लि. सँगको सहकार्यमा कार्ड्स सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टिज नेट सेटलमेन्ट सार्वजनिक गरिएका छन्।
एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १३ वटा विधामा बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर बैंक संस्थालाई विभिन्न विधा अन्तर्गत एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शनबाट सम्मानित गरेको छ। वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई “एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन” अवार्ड प्रदान गरिएको छ। त्यसैगरी, सिदार्थ बैंकलाई “एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्” अवार्डबाट सम्मानित गरिएको छ। “एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल” अवार्डबाट ग्लोबल आईएमई बैंकलाई सम्मानित गरिएको छ। नबिल बैंक “एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटपे” अवार्ड प्राप्त गर्न सफल भएको छ। नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई र ई–भिषाको अनलाईन पेमेन्टका लागि अन्तरराष्ट्रिय कार्ड पेमेन्ट गेटवे इनेबल गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागलाई स्पेसन रिकग्निसन अवार्ड प्रदान गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको इजाजतप्राप्त संस्था एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन्। एनसीएचएलको प्रणालीहरुबाट गत आर्थिक वर्ष एनसीएचएलले ने १८६ खर्बभन्दा बढीको २१ करोड १२ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको थियो। भुक्तानी कारोबार संख्याको आधारमा सो संख्या ६७ प्रतिशतले र कारोबार रकमको आधारमा १९ प्रतिशत वृद्धि भएको हो।