काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत असार २४ मा भोटेकोशीको बाढीले सबैभन्दा बढी क्षति पुर्याएको रसुवागढी जलविद्युत आयोजनाको पछिल्लो प्रगतिको स्थलगत निरीक्षण गरेका छन् ।उनले आइतबार १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणसँगै त्यहाँको प्राविधिक पक्षका बारेमा जानकारी लिएका हुन । सो क्रममा शाक्यले आयोजनाको बाँध, पावर हाउसलगायतका संरचनाको निरीक्षण गर्दै प्रभावकारी प्रविधिको प्रयोग गर्दै काम गर्न निर्देशन दिए ।
‘मानसिक त्रासमा बसेर लगातार काम गरेर यो सफलता प्राप्त गर्नुभयो अहिले दुई ओटा युनिट सञ्चालनमा ल्याउनुभयो यो प्रशंसनीय काम हो । यो सुख्खा मौसममा पनि यी दुई युनिटबाट करिब ४५ युनिट विद्युत् उत्पादन भइरहेको छ,‘ उनले भने,‘ यो गतिशीलतालाई कायम राख्नुहोस् । अहिलेसम्मको प्रगति राम्रो छ । तर, प्राकृतिक विपत्ति आइलाग्यो । यद्यपि अरू अवस्थामा तपाईंहरुको मेहनतले थप सुधार गरेर अघि बढ्दा यसले थप राम्रो गर्छ भन्ने मलाई लागेको छ ।’ उनले आवश्यक सहयोगका लागि प्राधिकरण तयार रहेको भन्दै डिजाइनमा भएका केही कमजोरीलाई सच्याएर आगामी दिनमा अहिलेको भन्दा राम्रो गरेर अघि बढ्न पनि सुझाव दिए ।
शाक्यले पहिला गरेको डिजाइन भन्दा अहिले वस्तुस्थिति फरक भएको र नदीले आफ्नो धार समेत परिवर्तन गरेको भन्दै त्यसै अनुसार डिजाइनमा परिवर्तन गरेर जानुपर्ने बताए । ‘पुरानै डिजाइनले पुरानो समस्यालाई समाधान गर्दैन,’ उनले भने, ‘अब फरक ढङ्गले अघि बढ्नुपर्छ मैले त्यही अनुसारको सुझाव पनि दिएको छु । यो एक वर्षको बाढीलाई हेरेर त्यसपछि स्थायी समाधानसहित अघि बढ्नुपर्छ ।’
विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइको अगुवाइमा निर्माण भएको रन–अफ– रिभरको यो आयोजनाले वार्षिक ३ अर्व २५ करोड आम्दानी गर्ने लक्ष्य लिएको भन्दै बाढीले क्षतिग्रस्त अवस्थापछि कठिनका साथ काम गरिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले असार २४ को बाढी अघि १ सय १४ करोड आम्दानी गर्न सफल भएको जानकारी दिए । उनले आयोजनाले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादनको लक्ष राखेको छ केन्द्रका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए ।
रसुवामा आएको बाढीले ३ सय ५० मेगावाटका आयोजना निर्माणको काममा अवरोध गरेको थियो । त्यसैगरी २ सय ५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएका थिए । सो बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो । त्यतिबेला ६० मेगावाट त्रिशूली–३ ए जलविद्युत् आयोजना, २४ मेगावाट त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट चिलिमे जलविद्युत्, १४ मेगावाट माथिल्लो मैलुङ, १४ मेगावाट देवीघाट जलविद्युत् परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएका थिए ।
अर्थ चौतारी ।