काठमाण्डौ । ‘धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ तपाईंले चुरोटको बट्टामा राखिने यो वाक्य पढ्नु भएको छ होला। नपढेको भए पनि सुन्नु भएको होला। सामाजिक सञ्जाल सूर्ती वा मदिरा त होइनन् तर प्रयोग गर्दा हुने हानीबारे टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, स्न्याप च्याटजस्ताले त्यस्तै चेतावनी सन्देश राख्नुपर्ने भएको छ।
सामाजिक सञ्जालको अधिक प्रयोगले मानिसक स्वास्थ्य बिगार्छ भन्ने कुरा व्यावसायिक, प्राज्ञिक र बहुवर्षीय ठूला अध्ययनले देखाइरहेका छन्। यही सन्दर्भमा अमेरिकाको न्यूयोर्क राज्यले सामाजिक सञ्जालका फिचरहरूमा ‘वार्निङ लेबल’ अर्थात् चेतावनी सन्देश राख्नुपर्ने कानून बनाएको हो।
इन्फिनिट स्क्रोलिङ, अटो प्ले र एल्गोरिदमिक फिडजस्ता सुविधा हुने सामाजिक सञ्जालमा यो कानून लागू हुनेछ। स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स सबै नै यो श्रेणीका कम्पनी हुन्। न्यूयोर्कको कानूनअनुसार अब यी सेवा प्रदायकले आफ्ना प्रयोगकर्ता, विशेषगरी युवालाई लामो समयसम्मको प्रयोगले मानसिक स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमबारे सचेत गराउने सन्देश देखाउनुपर्नेछ।
स्क्रिोलिङसँग लतको सम्बन्ध
प्रयोगकर्ताले जब कुनै ‘प्रिडेटरी’ अर्थात् लत लगाउने प्रकृतिका फिचरसँग अन्तरक्रिया गर्दछ, तब यस्ता चेतावनी लेबलहरू देखिनुपर्नेछ। पछि पनि समय समयमा देखाइरहनुपर्नेछ। कम्पनीहरू जहाँसुकै अवस्थित भए पनि न्यूयोर्कभित्रबाट यी प्लेटफर्महरू प्रयोग गर्दा यो नियम लागू हुनेछ। यो कानूनमा न्यूयोर्ककी गभर्नर क्याथी हचवुलले हस्ताक्षर गरिसकेकी छन्। कानून अब कार्यान्वयनमा गएको छ।
सन् २०२५ को सुरुमा प्रकाशित एउटा बहुवर्षीय अध्ययनले किशोरकिरोशोरमा सामाजिक सञ्जालको डिप्रेसन बढाइरहेको देखाएको थियो।
अटो प्ले र इन्फिनिट फिड असरको चिन्ता
अध्ययनले अत्यधिक स्क्रिोलिङ र एल्गोरिदममा आधारित अनलाइन व्यवहारले मानिसक स्वास्थ्य ठूलो असर पर्ने देखाएको थियो। फेसबुक, टिकटकजस्ता कम्पनीले यस्ता परिवर्तनलाई मानसिक सचेतना र स्वस्थ प्रयोगको बानीतर्फको एउटा प्रयासका रुपमा व्याख्या गरेका छन्। आलोचकहरू भने अझै पनि अटो प्ले र इन्फिनिट फिड जस्ता डिजाइनले प्रयोगकर्तालाई लामो समयसम्म अल्झाइराख्न प्रोत्साहित गरिरहेको तर्क गर्छन्।
अस्ट्रेलियाले केही अगाडि कडा कदम चाल्दै १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। ब्रिटेन, जर्मनी र फ्रान्सले युवा प्रयोगकर्ताका लागि सामाजिक सञ्जालसम्बन्धी कानूनमा कडाइँ गर्दै लगेका छन्। डेनमार्क निकट भविष्यमै यससम्बन्धी कानून ल्याउने तयारीमा देखिन्छ।
अर्थ चौतारी ।