logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो, सुरक्षित नभएसम्म मुलुक अघि बढ्दैन

    निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो, सुरक्षित नभएसम्म मुलुक अघि बढ्दैन

    1.4K
    SHARES
    निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो, सुरक्षित नभएसम्म मुलुक अघि बढ्दैन

    काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य-सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक रहेको बताए ।



     

    उनले अहिले आर्थिक सूचक सकारात्मक दिशामा रहे पनि लगानी बढ्न नसकेको स्वीकार गरे । ‘चालु खाता बचतमा छ । शोधनान्तर बचतमा छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । ब्याजदर र मुद्रास्फीति घटेको छ । तर पनि कर्जा लगानी बढ्न सकेन,’ खनालले भने । निजी क्षेत्रको सम्पत्ति राज्यको पनि सम्पत्ति रहेको उल्लेख गर्दै उनले यसको सुरक्षा सबैको दायित्व रहेको प्रष्ट पारे ।

     

     

    ‘निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो । यसलाई आफ्नो ढङ्गले काम गर्न दिनुपर्छ । निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राज्यको पनि सम्पत्ति हो,’ उनले भने, ‘मुलुकभित्र जुनसुकै क्षेत्रबाट लगानी हुनु भनेको राज्यका लागि भएको लगानी हो । त्यसमा क्षति हुनु भनेको मुलुककै सम्पत्ति माथिको क्षति हो भनेर राजनीतिक दलका कार्यकर्ताले पनि बुझ्न जरुरी छ ।’

     

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले आर्थिक समृद्धिका लागि शान्ति र स्थायित्व पूर्वशर्त हुने बताए । ‘समृद्धि हासिल गर्न शान्ति चाहियो । त्यसका लागि स्थिर र बलियो सरकार चाहिन्छ । चुनाव पछि एउटै दलले स्थिर सरकार बनाउन सकेन भने पनि अरु दल मिलेर स्थायित्वसहितको वातावरण आवश्यक छ,’ उनले भने ।

     

     

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकार अन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिक रूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताए । मन्त्री खरेलले निजी क्षेत्रलाई सुरक्षित राख्नु अपरिहार्य रहेको उल्लेख गरे । निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता नबनेसम्म मुलुक अघि बढ्न नसक्ने उनले धारणा व्यक्त गरे ।

     

     

    ‘समाजवाद उन्मुख राज्य व्यवस्था अघि बढाउन निजी क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन । उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री खरेलले भने ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भइसकेको भन्दै निर्वाचन हुनेमा कुनै आशङ्का नरहेको स्पष्ट पारे । सरकारले दृढताका साथ निर्वाचन प्रक्रिया अघि बढाइरहेको उनको भनाइ छ ।


    अर्थ चौतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार