logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

    नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

    1.3K
    SHARES
    नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

    काठमाण्डौ । नेपालको अटोमोबाइल्स क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) ले नयाँ नेतृत्व पाएको छ । नाडाको आगामी कार्यकालका लागि वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्षमा निर्वाचित भएको कोषाध्यक्ष मिलन मल्लले जानकारी दिए ।



     

    मल्लका अनुसार आगामी पुस २५ गते हुने निर्वाचनका लागि बिहीबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो । सो समयसीमाभित्र अध्यक्ष पदका लागि उप्रेतीको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन् । निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

     

     

    लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटोमोबाइल क्षेत्रको उत्थानमा सक्रिय उप्रेती कुशल संगठित मानिन्छन् । यसअघि नाडाको कोषाध्यक्ष र महासचिव पद सम्हालिसकेका उप्रेतीले लुब्रिकेन्ट र वातावरण समितिको सदस्य रहेर समेत काम गरिसकेका छन् ।

     

     

    व्यवसायिक रूपमा उनी प्रतिष्ठित एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनको नेतृत्वमा रहेको एसटीसी ग्रुपले नेपालमा टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्ट्सको व्यवसायमा बलियो उपस्थिति जनाउँदै आएको छ ।

     

     

    यसअघि गत पुस ९ गते नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचनको प्रक्रिया भने केही अन्याैलपूर्ण बनेको थियो। निर्वाचन कार्यतालिका बिना नै साधारण सभा बोलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचन रोक्न निर्देशन दिएको थियो ।

     

    प्रशासनको सोही आदेशको पालना गर्दै नाडाले पुस २५ गतेका लागि नयाँ निर्वाचन मिति तय गरेको थियो । अध्यक्षमा उप्रेती निर्विरोध भएसँगै अब अन्य कार्यसमिति सदस्य र पदाधिकारीहरू पनि सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको नाडाले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार