काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत समाजमा द्वेष फैलाइएकोमा न्यायालयले चिन्ता प्रकट गरेको छ । मिडियाले समेत कतिपय विषयमा भ्रम सिर्जना हुने गरी समाचार सम्प्रेषण गरेको न्यायालयको गुनासो छ ।
आइतबार सर्वोच्च अदालतमा विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जालहरूमा न्यायपालिका र न्यायाधीश लक्षित गरी अराजक तथा अश्लील सामग्री प्रसारण भइरहेको भन्दै चिन्ता प्रकट गरेका हुन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा मिडियाले समेत कतिपय विषय, खासगरी विचाराधीन मुद्दाका सन्दर्भमा अदालत र न्यायाधीशको हुर्मत लिने काम गरेको भन्दै गुनासो प्रकट गरे ।
‘लोकतन्त्र, बहुलवादमा स्वच्छ आलोचना गर्न पाइन्छ,’ प्रधान न्यायाधीश राउतले भने, ‘हामीबाट कुनै कमी–कमजोरी र गल्ती भएको रहेछ भने तथ्यमा आधारित रहेर गरिएका आलोचनालाई हामी स्वागत नै गर्छौँ र हामी सच्चिन्छौँ तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशको हुर्मत लिने छुट कसैलाई छैन ।’
पछिल्लो समय न्यायालय र न्यायाधीशहरूलाई लक्षित गर्दै भइरहेका नकारात्मक टिप्पणीका सन्दर्भमा आफूहरूले गम्भीर भएर समीक्षा गरेको पनि उनले सुनाए । यद्यपि, यस्ता अधिकांश आलोचना तथ्यहीन र भ्रामक रहेको पाइएपछि मिडिया सामु आफ्ना धारणा सार्वजनिक गरी समाजलाई ध्यानाकर्षण गराउन चाहेको उनको भनाइ थियो ।
प्रधान न्यायाधीश राउतले न्यायालय र न्यायाधीश डराएको खण्डमा नागरिक हक उपभोग हुन नसक्ने र राज्यको चौथो अङ्गले समेत आफ्नो हक उपभोग गर्न नसक्ने दाबी गरे । उनले न्यायाधीश निर्भीक भएमा नागरिक निश्चिन्त हुन सक्ने प्रस्ट पारे ।
अदालतले आफ्नो काम–कारबाही विधि र प्रक्रिया अनुसार गर्नुपर्ने प्रधान न्यायाधीश राउतले बताए । ‘अदालतमा जे पायो त्यो गर्न पाइँदैन,’ उनले भने, ‘विधि, प्रक्रिया, तथ्य, प्रमाण हेरेर मात्र न्यायाधीशले कुनै पनि मुद्दामा फैसला गर्छ ।’ यति हुँदाहुँदै पनि कहिलेकाहीँ गल्ती भइहाल्यो भने संविधानले नै त्यसलाई सच्याउन सकिने गरी व्यवस्था गरेको उनको जिकिर थियो । ‘जिल्ला अदालतले गल्ती गरेको छ भने उच्च अदालतमा पुगेर सच्याउन सकिन्छ र उच्च अदालतले पनि गल्ती गर्यो भने सर्वोच्च अदालतमा पुगेर सच्याउन सकिन्छ,’ उनले भने ।
प्रधान न्यायाधीश राउतले अदालतप्रति नै घृणा फैलाउने हो भने नागरिक सर्वोच्चता नै सङ्कटमा पर्ने दाबीसमेत गरे । उनले बदनियत वा प्रतिशोध साँधेर गरिने आलोचना सह्य नहुने चेतावनीसमेत दिए । कार्यक्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू समेत उपस्थित थिए ।