logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • प्राधिकरणको ध्यान विश्वसनीय र गुणस्तरीय बिजुली सेवामा छ : हितेन्द्रदेव शाक्य

    प्राधिकरणको ध्यान विश्वसनीय र गुणस्तरीय बिजुली सेवामा छ : हितेन्द्रदेव शाक्य

    663
    SHARES
    प्राधिकरणको ध्यान विश्वसनीय र गुणस्तरीय बिजुली सेवामा छ : हितेन्द्रदेव शाक्य

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताएका छन् । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकहरूलाई सम्मान गर्ने अभियान’ का लागि आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश पुगेका कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन् ।



    उनले कर्णाली र सुदूरपश्चिम प्रदेशका वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गरेका छन् । ‘पहिलाका दिनमा लोडसेडिङ थियो । त्यतिबेला जसरी पनि बिजुली पुर्‍याउनुपर्छ भन्ने थियो अब बिजुली पुर्‍याएर मात्रै हुँदैन,’ उनले भने,‘ बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ । गुणस्तर भनेको झ्याप्प झ्याप्प बिजुली जानु भएन । बिजुली भरपर्दो हुनुपर्‍यो ।’

    उनले सबै भन्दा बढी विद्युत् खपत गरेर प्राधिकरणको आम्दानीमा मात्रै टेवा पुर्‍याउने होइन विद्युत्‌काे उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिनुपर्ने बताए । ‘अझ उद्योगीहरूले विद्युत् कच्चापदार्थका रूपमा प्रयोग गर्नुहुन्छ । त्यो बिजुली प्रयोग गरेर त्यो भन्दा चार–पाँच गुणा बढी योगदान थप्नु हुन्छ,’ उनले भने, ‘विद्युत् उपभोक्ता हाम्रो आम्दानीका लागि मात्रै होइनन् । देशकै अर्थतन्त्रको योगदानका लागि महत्त्वपूर्ण भएको हुनेछ ।’

    उनले गुणस्तरीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको भन्दै अझ उद्योगीहरूका लागि झन् आवश्यक हुने उल्लेख गरे । उनले सुदूरपश्चिम क्षेत्रको विद्युतलाई विश्वसनीय र राम्रो अथवा गुणस्तरीय बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढेको पनि जानकारी दिए ।

    ‘यो क्षेत्रका लागि यो राम्रो छ । त्योसँगै सुदूरपश्चिम क्षेत्रमा अन्य धेरै आयोजना पनि आइरहेको हुनाले यो ठाउँको विद्युतको गुणस्तर राम्रो हुने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘हामी छिट्टै जति ठुलो उद्योग आउँदा र उहाँहरूले माग्दा पनि दिन सक्ने अवस्थामा पुग्नेछौँ ।’

    उनले उपभोक्तालाई विद्युत् खपत बढाउन आग्रह गर्दै त्यसैले प्राधिकरणको आम्दानी बढ्ने र अर्थतन्त्रमा पनि योगदान हुने उल्लेख गरे । कोलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनासँगै कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको पनि निरीक्षण भ्रमण गरे ।

    उनले त्यहाँ हिमाली र पहाडी जिल्लामा देखिएका समस्या र समाधानको उपाय उपायसहित तालिका बनाएर अघि बढ्नका लागि निर्देशन दिए । कर्णालीपछि सुदूरपश्चिम पुग्नु भएका शाक्यले कैलालीको लम्कीचुहामा रहेको प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय कंक्रिट पोल प्लान्ट, अत्तरियाको सब–स्टेशन, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी वितरण केन्द्रलगायतको भ्रमण गरेका छन् ।

    शाक्यले आफ्ना उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत् आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरूको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरुवात गरेको बताए ।


    अर्थ चाैतारी
  • सोमबार, २१ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट