काठमाण्डौ । नेपालमा पहिलोपटक ‘राष्ट्रिय रेशम सम्मेलन’ हुने भएको छ । ह्यान्डलुम फ्याब्रिक मेकर्स अफ नेपाल (एचएफएमएन)को आयोजना र काभ्रेपलाञ्चोकको खोपासीस्थित रेसम विकास केन्द्रको सहकार्यमा पुस २६ गते उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।
सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी गराइएको छ । उक्त सम्मेलन काठमाण्डौको मेरियट होटलमा आयोजना केन्द्रले जनाएको छ । नेपालको रेसम उद्योगलाई दिगो राष्ट्रिय उद्योगका रूपमा पुनर्स्थापना गर्ने र यसको लुकेको सम्भावनालाई उजागर गर्ने लक्ष्य लिइएको केन्द्रका अध्यक्ष रोशनकुमार पोखरेलले जानकारी दिए ।
नेपालमा रेसम उद्योगको प्रचुर सम्भावना छ । यदि २२ हजार हेक्टर जमिनमा व्यवस्थित रूपमा किम्बु खेती गरी रेसम उत्पादन, प्रशोधन र गार्मेन्ट उद्योगलाई एकीकृत गर्ने हो भने नेपालले वार्षिक अर्बौँ रुपैयाँ आम्दानी गर्न सक्ने केन्द्रको भनाइ छ ।
नेपालमा रेसम खेतीका लागि उपयुक्त जमिन, हावापानी र श्रम शक्ति भए तापनि नीतिगत अस्पष्टता, लगानीको अभाव र आधुनिक प्रविधिको कमीले गर्दा रेसम उद्योग हाल सञ्चालनमा आउन नसकेको भन्दै यसकाे एकीकृत मूल्य शृङ्खला निर्माण गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको अध्यक्ष पोखरेलले बताए ।
सम्मेलनमा चार वटा सत्र राखिने छन् । सत्रहरूमा रेशम खेतीको अवस्था, सम्भावना, बजार तथा अन्य प्राविधिक पक्षको बारेमा छलफल हुनेछ । अहिले देशमा खेतबारी बाझिँदै गएको परिप्रेक्ष्यमा रेशम खेतीलाई बढावा दिन सके भूमिको सदुपयोगमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ ।