logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • कोशीका १६० स्टार्टअपमा १४ सयभन्दा बढीले पाए रोजगारी, ८० प्रतिशत उद्यम नाफामा

    कोशीका १६० स्टार्टअपमा १४ सयभन्दा बढीले पाए रोजगारी, ८० प्रतिशत उद्यम नाफामा

    741
    SHARES
    कोशीका १६० स्टार्टअपमा १४ सयभन्दा बढीले पाए रोजगारी, ८० प्रतिशत उद्यम नाफामा

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा रहेका स्टार्टअप उद्यमहरूबारे गरेको एक अध्ययनले उत्साहजनक नतिजा देखाएको छ । बैंकको अध्ययनमा समेटिएका १६० वटा स्टार्टअप उद्यममा मात्रै आर्थिक वर्ष २०८०/८१ मा १ हजार ४३६ जनाले रोजगारी पाइरहेको तथ्यांक सार्वजनिक भएको हो ।



    अध्ययन प्रतिवेदनअनुसार रोजगारी पाउनेमा पुरुषको हिस्सा ५१.६ प्रतिशत र महिलाको हिस्सा ४८.४ प्रतिशत रहेको छ । क्षेत्रगत हिसाबमा हेर्दा सेवामूलक उद्यममा महिला सहभागिता सबैभन्दा बढी ५७ प्रतिशत छ भने सूचना प्रविधि क्षेत्रमा सबैभन्दा कम २२.७ प्रतिशत मात्र रहेको छ । सञ्चालनमा रहेका यी उद्यमहरूको औसत क्षमता उपयोग ७१.४ प्रतिशत रहेको पाइएको छ । जसमा कृषि तथा वनजन्य क्षेत्रका उद्यमले सबैभन्दा बढी ८२.१ प्रतिशत र पर्यटन क्षेत्रका उद्यमले सबैभन्दा कम ६०.७ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

    स्टार्टअप उद्यमहरूको वित्तीय अवस्था पनि सकारात्मक देखिएको छ । अध्ययनमा समावेश १६० स्टार्टअपमध्ये आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत अर्थात् १२८ वटा उद्यम नाफामा रहेका छन् भने २० प्रतिशत अर्थात् ३२ वटा उद्यमले नोक्सान बेहोरेका छन् । कृषि तथा वनजन्य क्षेत्रका ८६.४ प्रतिशत उद्यम नाफामा रहँदा सूचना प्रविधि क्षेत्रका ६० प्रतिशत उद्यम मात्र नाफामा देखिएका छन् ।

    यी १६० स्टार्टअपले उक्त आर्थिक वर्षमा कुल ९२ करोड ६४ लाख रुपैयाँ बराबरको बिक्री आम्दानी गरेका छन्, जसमा १२ करोड ९२ लाख रुपैयाँ खुद नाफा भएको छ । स्टार्टअपहरूको औसत नाफा १३.९ प्रतिशत रहेको छ । कुल २ अर्ब २४ करोड ९० लाख लगानी रहेको यी उद्यमहरूको औसत लगानी प्रतिफल दर ५.७ प्रतिशत रहेको छ । रोचक कुरा के छ भने, सूचना प्रविधि क्षेत्रको लगानी प्रतिफल दर सबैभन्दा बढी २०.९ प्रतिशत छ भने पर्यटन क्षेत्रको सबैभन्दा कम ३ प्रतिशत मात्र रहेको छ ।

    प्रविधिको प्रयोगले व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको अध्ययनले देखाएको छ । १६० मध्ये ४४ वटा उद्यममा उच्च प्रविधि र १०४ वटामा सामान्य प्रविधिको प्रयोग भएको छ ।

    सूचना प्रविधि क्षेत्रका ६६.७ प्रतिशत उद्यममा उच्च प्रविधिको प्रयोग भएको छ । प्रविधिको प्रयोगले ग्राहकसँगको पहुँच वृद्धि, श्रम लागतमा कमी र उत्पादकत्वमा वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । अध्ययनमा समेटिएका मध्ये १५५ वटा उद्यमले व्यवसाय विस्तार गर्ने योजना बनाएको देखिएको छ । व्यवसाय विस्तारको योजना बनाउनेमध्ये धेरैजसोले क्षमता विस्तार, वस्तु तथा सेवा विविधीकरण र बजार विस्तारलाई प्राथमिकतामा राखेका छन् ।

    समग्रमा ९१.९ प्रतिशत उद्यम सफलता उन्मुख रहेको राष्ट्र बैंकको निष्कर्ष छ । विशेषगरी कृषि तथा वनजन्य क्षेत्रका ९८.५ प्रतिशत उद्यम सफलताको बाटोमा छन् । सफलता उन्मुख हुनुमा ४७.१ प्रतिशतले बजारको उपलब्धता र २६.३ प्रतिशतले प्रविधिको प्रयोगलाई मुख्य कारण मानेका छन् ।

    अर्कोतर्फ, संकट उन्मुख देखिएका ८.१ प्रतिशत उद्यमहरूले भने बजारको अभाव, पुँजीको कमी र प्रविधिको अभावलाई मुख्य समस्याको रूपमा औँल्याएका छन् । यसबाहेक विदेशी भुक्तानीमा कठिनाइ, नगद प्रवाहको समस्या र खुला सिमानाका कारण हुने अवैध आयातले पनि व्यवसायमा चुनौती थपेको अध्ययनले देखाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट