काठमाण्डौ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतमा झिकाउने आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मंगलबार प्रतिवादी सुनिल पौडेललाई झिकाउने आदेश जारी गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २०८१ वैशाख ९ गते गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको थियो ।
आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ ।
यसअघि राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतले दोषी ठहर गरेपछि कारागार चलान भएका थिए ।