काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले Global Accounting Initiative of Nepal (GAIN) प्रोजेक्ट घोषणा गरेको छ । बुधबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा आइक्यानका अध्यक्ष निल सारु मगरले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ अफ नेपाल ‘गेन’ प्रोजेक्टको घोषणा गरेका हुन्।
यस प्रोजेक्टको उदेश्य नेपालबाट एकाउन्टिङ र फाइनान्स तथा यस सम्बन्धि सेवा विश्वका अन्य देशमा निर्यात गर्ने तथा नेपाललाई एकाउन्टिङ र फाइनान्सको आउटसोर्सिंग हब बनाउने रहेको छ। आईक्यानका अध्यक्ष मगरका अनुसार यो वर्ष प्रोजेक्टको रुपमा यो कार्यक्रम सुरु गरिएको र अर्को वर्षदेखि यसलाई नियमित कार्यक्रमको रुपमा अगाडी बढाईने छ।
यस प्रोजेक्टबाट १० वर्षको अवधिमा ६ देखि ७ अर्ब डलर अर्थात् करिब १० खर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याउने लक्ष्य रहेको र यसबाट डेढ लाख जनाले रोजगारी पाउने अध्यक्ष मगरको भनाई छ। अमेरिका, युके, अष्ट्रेलिया लगायतका विश्वका विकसित देशमा एकाउन्टिङ कोर्समा आवद्द हुने विद्यार्थीको संख्या घटिरहेको, ति देशका एकाउन्टिङ फर्मबाट पार्टनरहरु बाहिरिने क्रम बढेको, विश्वका विकसित देशमा एकाउन्टिङ सम्बन्धि जनशक्तिको अभाव हुने क्रम देखिएकोले ति देशमा नेपालबाट सेवा दिन सकिने भएकोले यस प्रोजेक्टको परिकल्पणा गरिएको अध्यक्ष् मगरले बताए।
अध्यक्ष मगरका अनुसार अहिले फिलिपिन्स, भारत, बंगलादेश, भियतनाम लगायतका देशले एकाउन्टिङ सेवा निर्यात गरेर अर्वौँ डलर विदेशी मुद्रा भित्र्याईरहेका छन् । अब नेपालले पनि यसै गरि एकाउन्टिङ र फाइनान्स सम्बन्धि सेवा निर्यात गरेर नेपाललाई यसको हब बनाउनु पर्ने उनले बताए । नेपाललाई रेमिट्यान्समा चलेको देशको साटो अब आईटी र एकाउन्टिङ सेवा निर्यात गर्ने हब देशको रुपमा चिनाउनु पर्ने अध्यक्ष् मगरको भनाई छ ।
यसको लागि सिप विकासको कार्य गरिने, र केही कानूनी व्यवस्थालाई प्रष्ट पारिने एक्यानले जनाएको छ । एकाउन्टिङ सेवा दिने फर्मले पनि विदेशमा शाखा खोल्न सक्ने व्यवस्था गरिनु पर्ने, आईटीलाई जस्तै करको विषयमा केहि सहुलियत गरिनु पर्ने व्यवस्था गर्नु पर्ने भएकोले एक्यान र सरकार समन्वय गरेर अगाडी बढिने एक्यानको भनाई छ ।
नेपालमा अहिले नै एकाउन्टिङ र फाइनान्स समबन्धि सेवा प्रदान गर्ने २५ हजार प्रोफेसनल रहेको, ति सबै अंग्रेजी भाषामा दक्ष रहेको, नेपालको टाइम जोन पनि अनुकुल रहेको, आईक्यान संस्थालाई विश्वका अन्य एकाउन्टिङ सम्बन्धि नियामक संस्थाले रिकगनाइज गरेको, विश्वका विकसित देशका नियामकसंग दुई पक्षिय सम्झौता भईसकेको लगायतका कारणले पनि यस प्रोजेक्ट सुरु गरिएको एक्यानले जनाएको छ । यसको अलावा नेपालीहरु विश्वमा इमान्दारिता र विश्वासको लागि चिनिने भएकोले पनि यो प्रोजेक्ट सफल हुने एक्यानले उल्लेख गरेको छ।
अध्यक्ष मगरका अनुसार अहिले पनि नेपालमा करिव हजार जना प्रोफेसनलहरुले नेपालबाट नै एकाउन्टिङ र फाइनान्ससमबन्धि सेवा निर्यात गर्दै आएका छन् । उनीहरुले अहिले लिदै आएको शुल्क भारत, फिलिपिन्स जस्ता देशको तुलनामा निकै नै कम रहेकोले नेपाललाई एकाउन्टिङ र फाइनान्स आउटसोर्सिंगमा ठूलो अवसर रहेको छ । विदेशमा गएका सीएहरुले नै एकाउन्टिङ र फाइनान्स सेवा नेपालमा आउटसोर्सिंग गरिरहेको उनको भनाई छ । अब सबैको साझा पहलमा नेपाललाई एकाउन्टिङ सम्बन्धि सेवा आउटसोर्सको हब बनाउनु पर्ने उनले बताए । त्यहि कारण नै उनले यस प्रोजेक्टको लागि ‘Think accounting, Think Nepal’ को नारा तय गरिएको अध्यक्ष मगरको भनाई छ।
एक्यानका उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेले एक्यानले सुरु गरेको यो प्रोजेक्ट कार्यान्वयन गर्नै नसकिने खालको अति महत्वकांक्षी प्रोजेक्ट नभएको उल्लेख गरे। उनले सबै साझा सहयोगको साथ यो प्रोजेक्ट कार्यान्वयन गर्न सकिने र यस्ता सेवा निर्यात गरेर सहज रुपमा विदेश मुद्रा भित्र्याउन सकिने बताए। अहिले नै यस्ता सेवा निर्यात गरेर केही विदेशी मुद्रा आईरहेको सम्बन्धमा एक्यानले यसको लागि नेतृत्व लिएर थप सहजीकरण मात्र गरेको उनको भनाई थियो। एक्यान आफैमा गैर नाफामुलक संस्था रहेकोले यसबाट एक्यानले नाफा गर्न खोजेको नभई नेपालबाट एकाउन्टिङ र फाइनान्ससमबन्धि सेवा निर्यात गर्दै नेपाललाई समृद्ध देश बनाउन सकिने र हजारौं रोजगारी सिर्जना गर्न सकिने भएकोले यो प्रोजेक्ट अघि बढाईएको वाग्लेले उल्लेख गरे।
आज नै एक्यानले यस प्रोजेक्टको लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । जसमा एकाउन्टिङ र फाइनान्ससमबन्धि सेवा दिने फर्म र प्रोफेसनलहरुले आफुले दिने सेवा इन्ट्री गर्न सक्ने छन्।