काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ पैसा बढेर ९२ रुपैयाँ ४९ पैसा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो वृद्धि पछिल्लो ९ दिनभित्र तेस्रो पटक गरिएको हो । यसअघि पनि दुई पटक इन्धनको मूल्य बढाइएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण भारतमा पेट्रोलियम पदार्थ महँगिएको बताइएको छ । इरान–अमेरिका तनाव र पश्चिम एसियाको अवस्थाका कारण कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ ।
भारतमा मूल्य बढेसँगै नेपालमा पनि यसको असर पर्न सक्ने देखिएको छ । नेपालले पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले भारतीय आयल कर्पोरेसनले पठाउने नयाँ मूल्यसूचीका आधारमा नेपालमा पनि मूल्य समायोजन हुन सक्छ ।
नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजार र भारतबाट आउने खरिद मूल्यका आधारमा हरेक १५ दिनमा मूल्य समायोजन हुँदै आएको छ ।
इन्धनको मूल्यवृद्धिले यातायात, ढुवानी र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ ।
अर्थ चाैतारी ।