काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाले जारी गर्ने डेविट र क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री tactile features राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशन संगै वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरु जारी गर्ने डेविट / क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री tactile features राख्नुपर्नेछ ।
त्यस्तै अब ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन इजाजतपत्रप्राप्त संस्थाले त्यस्ता ग्राहकहरुका लागि विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ। यसको अलावा इजाजतपत्रप्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ र यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।
त्यस्तै इजाजतपत्रप्राप्त संस्थाले एक आपसमा सहकार्य गरी एटिएम लाउञ्ज भएका स्थानमा Braille signs control buttons र audio support सहितको कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्नेछ । यस प्रकारको एटिएमको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।
राष्ट्र बैंकले अपाङ्गगता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार इजाजतपत्रप्राप्त संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ ।
अर्थ चाैतारी ।