logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • सार्कप्रति घट्यो भारतको चासो, नेपालको प्रयासले पनि गरेन काम

    सार्कप्रति घट्यो भारतको चासो, नेपालको प्रयासले पनि गरेन काम

    403
    SHARES
    सार्कप्रति घट्यो भारतको चासो, नेपालको प्रयासले पनि गरेन काम

    काठमाण्डौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औँ शिखर सम्मेलन काठमाण्डौ सम्पन्न भएको थियो । तर १८औँ शिखर सम्मेलन भएको १२ वर्ष बितिस्कदा पनि १९औं सम्मेलनको टुंगो लाग्न सकेको छैन ।



    सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा तय गरिएको १९औँ शिखर सम्मेलन अन्तिम समयमा भारत सहभागी नहुने भएपछि रद्द गरिएको थियो । हरेक दुई वर्षमा हुने यो सम्मेलनबारे अहिले त चर्चा हुन पनि छाडिसक्यो । तर सार्कका अन्य गतिविधिहरू भने रोकिएका छैनन् ।

    काठमाण्डौस्थित सार्क सचिवालयमा ‘सार्क इन्टर्नसिप प्रोग्राम (एसआईपी) २०२६’ सुरु भएको छ । यस सत्रमा दक्षिण एसियाली क्षेत्रका विभिन्न देशबाट आएका युवा अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता छ ।यो कार्यक्रम युवा तथा विद्यार्थीका लागि क्षेत्रीय सहयोगका कार्यहरूमा व्यावहारिक अनुभव प्राप्त गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको सचिवालयले जनाएको छ । यसले सहभागीहरूलाई सार्कको उद्देश्य, नीति तथा गतिविधिहरूलाई नजिकबाट बुझ्ने र आत्मसात गर्ने सुनौलो अवसर प्रदान गर्ने विश्वास सचिवालले लिएको छ ।

    आफ्नो कार्यकाल दौरान इन्टर्नहरूले सार्कका विभिन्न कार्यात्मक क्षेत्रहरूमा प्रत्यक्ष संलग्न भई काम गर्ने भनिएको छ, तर सार्क शिखर सम्मेलनको विषयमा सचिवालयले केही बताएको छैन ।

    सार्क सचिवालय र यूएन वुमन एसियाप्यासिफको संयुक्त आयोजनमा वैशाख ३० र ३१ गते महिलाको आर्थिक सशक्तीकरणबारे काठमाडौँमा कार्यक्रम आयोजना भएको थियो । वैशाख ३१ गते श्रीलंकामा सार्क टक सिरिजको आयोजना पनि गरेको थियो ।

    सार्क कृषि केन्द्रले ग्लोबल एलायन्स फर इम्प्रुभ्ड न्यूट्रिसन बंगलादेश र अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान दक्षिण एसियाको सहकार्यमा वैशाख २६ गते श्रीलंकामा विकास साझेदारहरू र लगानीकर्ताहरूसँग समन्वय बैठक गरेको थियो । यस्ता थुप्रै कार्यक्रमहरू सार्क राष्ट्रहरूमा भइरहेका छन् । सार्कअन्तर्गत रहेका कुनै पनि संगठन निष्क्रिय छैनन् । सदस्य राष्ट्रहरूले सहयोगहरू पनि समयमै दिई नै रहेका छन् ।

    सार्कका महासचिव मोहम्मद गोलाम सरवरले जेठ ७ गते परराष्ट्रसचिव अमृत बहादुर राईसँग क्षेत्रीय सहयोगबारे छलफल गरेका थिए । यसअघि महासचिव गोलामले वैशाख २४ गते परराष्ट्रमन्त्री शिशिर खनाललाई पनि भेटेका थिए । क्षेत्रीय सहयोगका साथै सार्क सचिवालयबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्कका गतिविधिहरू र आगामी कार्यदिशाबारे महासचिव गोलामले मन्त्री खनाललाई जानकारी गराएका मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।

    सार्क प्रक्रियाप्रति नेपालको दृढ रहेकाले सार्कका गतिविधि तीव्र रुपमा अगाडि बढाउन नेपालले काम गरिरहेको प्रवक्ता क्षेत्रीले बताए । उनले भने, ‘शिखर सम्मेलन सार्कमा रहेका देशहरूको सहमतिमा हुने कुरा हो, त्यसमा नेपालले खेल्नुपर्ने भूमिका खेलिरहेको छ ।’

    किन ओझलमा पर्‍यो सार्क ?

    खासगरी भारत र पाकिस्तानको विवादका कारण सार्क ओझेलमा परेको परराष्ट्रविज्ञ नीलाम्बर आचार्य बताउँछन् । ‘जबसम्म सदस्य राष्ट्रबिच सहमति बन्दैन, तबसम्म यो अगाडि बढ्दैन,’ उनले भने, ‘त्यसका लागि अध्यक्ष राष्ट्रको नाताले नेपालले इनोसिएसन लिनुपर्छ ।’ वर्तमान अवस्थामा सार्कजस्तो संगठनको झन् आवश्यकता परेको आचार्य बताउँछन् । ‘सार्क राष्ट्रहरूले यसलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने हो, तर भूराजनीतिको प्रभाव परेको कारण अगाडि नबढेको हो,’ उनले भने ।

    सार्क शिखर सम्मेलन गराउन नेपालको तर्फबाट सक्दो प्रयास भए पनि भारतले चासो नलिएको परराष्ट्र मामिलाका जानकारहरू तर्क गर्छन् । तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा २०८१ भदौमा भारत भ्रमण गएका बेला त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग सार्कबारे सकारात्मक जवाफ पाएकी थिइनन् । विदेशमन्त्री जयशंकारले भनेका थिए, ‘तिम्रो देशमा आएर कसैले एट्याक गराएको भए, तिम्रो नागरिक मारेको भए, मिटिङ राख्नु हुन्थ्यो ?’

    आरजुले २०८१ माघ १ गते प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सार्कबारे कुरा उठाएकी थिइन् । यसबाट के पुष्टि हुन्छ भने, भारत र पाकिस्ताबिच समस्या समाधान नभएसम्म सार्क अगाडि बढ्न सक्दैन । त्यतिबेला आरजुले भनेकी थिइन्, ‘हेड अफ कन्ट्रीको मिटिङ गर्न सबैको सहमति हुनुपर्छ, नत्र मिटिङ हुँदैन, एभ्रीबडी ह्याज टु से एस, हन्ड्रेन्ड प्रसेन्ट एस हुनुपर्छ अनि मात्र बैठक बस्छ ।’

    आरजुले मात्र होइन, तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पनि त्यतिबेला सार्क सम्मेलन गराउन सक्रियता देखाएका थिए । २०८१ पुसमा बसेको नेकपा एमालेको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि सार्क सम्मेलनबारे ओलीले उल्लेख गरेका थिए । त्यति मात्र होइन, उनले त्यतिबेला नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीलाई बोलाएर यसबारे कुराकानी गरेका थिए ।

    तर त्यसयताका सरकारले सार्कलाई महत्त्व नदिएको जानकारहरू बताउँछन् ।

    यता, परराष्ट्र मन्त्रालयका पूर्वसचिव शंकरदास बैरागी सार्क शिखर सम्मेलन राजनीतिक विषय भएको बताउँछन् । सदस्य राष्ट्रहरूबिच राजनीति सहमति हुनु आवश्यक रहेको उनले बताए । ‘सार्कमा रहेका अन्य संगठनहरू ब्युरोक्रेसीका आधारमा सञ्चालित भएकाले सबै सक्रिय छन्, तर शिखर सम्मेलन हुने कुरा राजनीति भएकाले समस्या देखिएको हो,’ उनले भने ।

    कुनै पनि सदस्य राष्ट्रले बैठक बोलाउने विषयमा असहमति राखे बैठक नहुने सार्कको चार्टरमा उल्लेख छ । र भारतले नै चासो नदिँदा शिखर सम्मेलन हुन नसकेको हो ।

    के हो भारत–पाकिस्तान विवाद ?

    सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र आफगानिस्तान सदस्य राष्ट्र छन् । सन् २०१४ को नोभेम्बर २७ र २८ मा नेपालमा भएको सार्क सम्मेलनपछि कुनै गतिविधि भएको छैन । सार्क सम्मेलन सकेको पाँच महिनापछि पोखरामा बसेको सार्क मन्त्रीस्तरीय बैठकले पाकिस्तानको इस्लामावादमा १९औं सम्मेलन २०७३ चैत २४ र २५ गते गर्ने निर्णय गरेको थियो ।

    तर २०१६ सेप्टेम्बर १७ मा जम्मु–कश्मीरमा भारत–पाकिस्तानबिच भएको लफडाको कारण सार्क सम्मेलन स्थगित गरिएको थियो । भारत–पाकिस्तानबिच आन्तरिक विवाद चर्किँदै गएपछि सार्क विघटनको अवस्थामा नै पुगेको छ ।

    जम्मु–काश्मिरको उरीमा आफ्ना सैनिकमाथि पाकिस्तानले आक्रमण गरेको भनी भारतले आरोप लगाएको छ । उक्त आक्रमणमा १९ जना भारतीय सेनाको ज्यान गएको थियो । त्यो घटनाले सीधै सार्क शिखर सम्मेलनलाई नै असर गरेको थियो । त्यसबेलादेखि भारतले सार्क सम्मेलनप्रति रुचि देखाएको छैन ।

    भारत र पाकिस्तानबिच सम्बन्ध सुधार नभएसम्म यो सम्मेलन हुने कुनै संकेत देखिँदैन । यो सम्मेलन पाकिस्तानबाहेक अन्य ठाउँमा पनि गराउन सकिन्छ, तर त्यसका लागि पाकिस्तान तयार देखिएको छैन । अर्थात् भारत–पाकिस्तान तयार नभएसम्म सार्कको बैठक बस्न निकै चुनौती छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट