logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • सर्वोच्चको ऐतिहासिक फैसलाः कार्यस्थलमा मौखिक यौनजन्य दुर्व्यवहार गरे जागिरबाट तुरून्तै हटाउन पाइने

    सर्वोच्चको ऐतिहासिक फैसलाः कार्यस्थलमा मौखिक यौनजन्य दुर्व्यवहार गरे जागिरबाट तुरून्तै हटाउन पाइने

    390
    SHARES
    सर्वोच्चको ऐतिहासिक फैसलाः कार्यस्थलमा मौखिक यौनजन्य दुर्व्यवहार गरे जागिरबाट तुरून्तै हटाउन पाइने
    काठमाण्डौ । कार्यस्थलमा महिला कर्मचारीमाथि मौखिक रूपमा यौनजन्य टिप्पणी वा अश्लील शब्द प्रयोग गर्नु गम्भीर प्रकृतिको कसुर हुने र यस्तो कार्य गर्ने कर्मचारीलाई सेवाबाट तत्काल बर्खास्त गर्न सकिने फैसला सर्वोच्च अदालतले गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले २०८१ फागुन ८ गते गरेको फैसलाले श्रम ऐन, २०७४ को दफा १३२(२) को व्याख्या गर्दै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारका सम्बन्धमा यस्तो नजिर स्थापित गरेको हो ।
    कुरा सन् २०१७ मार्च १७ (२०७३ चैत ४) को हो । ललितपुरको बखुण्डोलस्थित प्लान इन्टरनेशनल नेपालको कार्यालयका लजिस्टिक कोर्डिनेटर नेत्र बहादुर श्रेष्ठले महिला कर्मचारी श्रीदेवी श्रेष्ठको शरीरको संवेदनशील अंगलाई लक्षित गर्दै भन्छन्, ‘तिम्रो डल्लो देखिरहेको छ, छोप ।’
    एउटा मर्यादित र व्यावसायिक वातावरण हुनुपर्ने कार्यालयमा सहकर्मीबाट आएको यो भद्दा र अश्लील टिप्पणीले ती महिला कर्मचारीलाई स्तब्ध बनायो । आफ्नो आत्मसम्मान र मर्यादामा ठुलो चोट पुगेको भन्दै संस्थामा उजुरी दिइन् । प्लान इन्टरनेशनलले यसलाई गम्भीरतापूर्वक लियो र आन्तरिक छानबिन सुरु गर्‍यो । छानबिनका क्रममा नेत्र बहादुरले आफूले त्यस्तो शब्द प्रयोग गरेको कुरा स्वीकार गरे ।
    संस्थाको नीति थियो, ‘यौनजन्य दुर्व्यवहारमा शून्य सहनशीलता’ । सोही नीति र श्रम ऐनको आधारमा संस्थाले उनलाई २०७५ वैशाख २१ गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिदियो ।
    आफूले बोलेकै कारण जागिर गएपछि नेत्र बहादुर ‘श्रम अदालत’ पुगे । २०७६ असार १८ गते श्रम अदालतले एउटा यस्तो फैसला गर्‍यो, जसले पीडित र संस्था दुवैलाई अचम्ममा पार्‍यो । श्रम अदालतको तर्क थियो, ‘उनले मुखले मात्र भनेका हुन्, शरीरमा हात हालेका छैनन् । यो उनको पहिलो गल्ती हो । एकैपटक जागिरबाट निकाल्नु अलि बढी कठोर सजाय भयो ।’ श्रम अदालतले उनलाई पुन: जागिरमा फर्काउन आदेश दियो र सजायको रूपमा ‘एक वर्षको तलब वृद्धि रोक्का’ गरिदियो ।
    श्रम अदालतको यो फैसलाले कार्यस्थललाई झन् असुरक्षित बनाउने भन्दै प्लान इन्टरनेशनलकी कन्ट्री डाइरेक्टर च्यारिटी जोय मेइजर सर्वोच्च अदालत पुगिन् । यो मुद्दा करिब ५-६ वर्ष सर्वोच्चमा चल्यो ।
    तर अन्त्यमा, सर्वोच्चले मौखिक दुर्व्यवहारलाई पनि गम्भीर कसुरका रूपमा स्थापित गरिदियो । सर्वोच्चले श्रम ऐन, २०७४ र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ लाई उद्धृत गर्दै यौनजन्य दुर्व्यवहार हुनका लागि ‘शारीरिक स्पर्श’ नै हुनुपर्ने अनिवार्य सर्त नभएको स्पष्ट पारेको छ । मौखिक रूपमा गरिने अश्लील टिप्पणी वा इशारा पनि यौनजन्य दुर्व्यवहारकै श्रेणीमा पर्ने अदालतको ठहर छ ।
    सर्वोच्चले यस मुद्दालाई केवल एउटा कर्मचारीको जागिरको रूपमा मात्र हेरेन, कार्यस्थलमा महिलाको सुरक्षा र मनोवैज्ञानिक प्रभावको कोणबाट विश्लेषण गरिदिएको छ ।
    फैसलामा कार्यस्थलमा उच्च पदमा रहेको व्यक्तिले मातहतका महिला कर्मचारीमाथि गर्ने यस्तो दुर्व्यवहारले पदको दुरुपयोग मात्र नगरी पीडितको मनोवैज्ञानिक स्वायत्तता र कार्यस्थलमा निर्भयतापूर्वक काम गर्ने अधिकारमा प्रतिकूल प्रभाव पार्ने व्याख्या पनि गरेको छ । यदि यस्ता कसुरदारलाई कडा सजाय नगरी सेवामा पुनर्बहाली गर्ने हो भने अन्य महिला कर्मचारीहरूले उजुरी गर्ने साहस हराउने र कार्यस्थल असुरक्षित बन्दै जाने तर्फ अदालतले सचेत गराएको छ ।
    सर्वोच्चले श्रम अदालत काठमाडौंको २०७६ असार १८ को फैसला उल्टाउँदै श्रम अदालतको व्याख्यालाई पनि त्रुटिपूर्ण भनेको छ । पटक-पटक नदोहोरिएको वा पहिलो पटक भएको भन्दै सजाय कम गर्नु न्यायोचित नहुने सर्वोच्चको ठहर छ । कसुरको गम्भीरता अनुसार सेवाबाट हटाउने संस्थाको निर्णय कानुनसम्मत रहेको अदालतले ठहर गरेको छ ।
    सर्वोच्चले भनेको छ, ‘यौनजन्य आशयले बोलिएका शब्द, गरिएका इशारा वा अश्लील ठट्टा पनि दुर्व्यवहार नै हुन् । हात नहालेसम्म दुर्व्यवहार हुँदैन भन्दै यदि यस्ता व्यक्तिलाई माफ दिएर फेरि कार्यालय फर्काउने हो भने अरू महिला कर्मचारीहरूले भोलि आफूमाथि हुने अन्याय विरुद्ध बोल्ने साहस नै गर्दैनन् । पीडितहरू बोलेर के हुन्छ र, उल्टै उसैसँग बसेर काम गर्नुपर्छ भन्ने डरमा बाँचिरहन्छन् ।’
    साथै कार्यस्थलमा महिलाको मर्यादा र सुरक्षाको सुनिश्चितता गर्नु राज्य र रोजगारदाताको दायित्व भएको भन्दै ‘पीडित केन्द्रित अवधारणा’ अवलम्बन गर्नुपर्नेमा जोड सर्वोच्चले दिएको छ । सर्वोच्चले संविधानले दिएको ‘शोषण विरुद्धको हक’ र ‘महिलाको हक’ कागजी घोषणा मात्र हुनुहुँदैन भन्दै कार्यस्थलमा त्यसको अनुभूति हुनुपर्ने पनि ठहर गरेको छ ।
    यो फैसलासँगै अब कार्यस्थलमा कुनै पनि कर्मचारीले मौखिक रूपमा गर्ने यौनजन्य दुर्व्यवहारलाई ‘सामान्य’ मानिने छैन । रोजगारदाताले आफ्नो आन्तरिक नीति र श्रम ऐन बमोजिम त्यस्ता कर्मचारीलाई सेवाबाट तत्काल हटाउन सकिने भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट