काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सरकारले गरेको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संघिय संसदका दुबै सदनमा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र बाह्य द्वन्द्वका बीच नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो ।
नेपाली अर्थतन्त्रको एउटा मुख्य विशेषता उच्च उपभोग देखिएको छ । कुल गार्हस्थ उत्पादनमा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने अनुमान छ । यसरी हुने कुल उपभोगमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी ९१.२६ प्रतिशत रहेको छ भने सरकारी क्षेत्रको ६.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको हिस्सा २.१२ प्रतिशत मात्र रहने देखिएको छ ।
कुल गार्हस्थ उत्पादन (जीडीपी)को संरचनामा सेवा क्षेत्रको योगदान बढ्दै गएको छ । हाल सेवा क्षेत्रले ६१.८१ प्रतिशत हिस्सा ओगटेको छ भने कृषि क्षेत्रको योगदान २४ प्रतिशतमा खुम्चिएको छ । प्रदेशगत आधारमा बागमती प्रदेशले कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी ३६.७ प्रतिशत योगदान दिएको छ भने कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४.२ प्रतिशत मात्र छ ।
चालु आर्थिक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यस्तै प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ डलर र खर्चयोग्य आय २ हजार ४४ डलर पुग्ने अनुमा गरीएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रादेशिक तुलनामा प्रतिव्यक्ति आयमा ठुलो खाडल देखिएको छ । बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर पुग्दा मधेश प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा कम ९ सय ३४ अमेरिकी डलर मात्र रहने अनुमान छ ।
अर्थ चाैतारी ।