काठमाण्डौ । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति सहज भए पनि नेपाल आयल निगमले तत्काल भरी सिलिन्डर बिक्री गर्ने योजना नभएको जनाएको छ ।
ग्यासको चरम अभाव भएपछि गत फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेको निगमले अहिले बजारमा अभाव टरे पनि भरी सिलिन्डर बेच्ने योजना नरहेको स्पष्ट पारेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको ढुवानी अझै सहज नभइसकेकाले तत्काल भरी सिलिन्डर नबेच्ने जानकारी दिए ।
‘पश्चिम एसियाको द्वन्द्व साम्य होला जस्तो भएको थियो, तर पुनः युद्ध चर्किएको छ । कुन बेला कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने अन्योल कायमै छ,’ उनले भने, ‘अहिले उपभोक्ताले सहज रूपमा ग्यास पाइरहनुभएको छ र कुनै गुनासो पनि छैन । त्यसैले अहिले नै भरी सिलिन्डर ग्यास बेच्ने हाम्रो कुनै योजना छैन ।’
प्रवक्ता ठाकुरका अनुसार छिमेकी मुलुक भारतले समेत इन्धन खपत घटाउन सन्देश जारी गरिरहेको अवस्थामा नेपालले पनि खपत कम गर्नुपर्ने आवश्यकता छ । साथै, अहिले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिएका कारण पनि पेट्रोलियम पदार्थको खपत केही मात्रामा घटेको उनले बताए ।
यसरी सुरु भएको थियो ग्यास अभाव र आधा सिलिन्डरको नियम
जाडोयाम सुरु भएसँगै खपत बढेको र आपूर्ति घटेका कारण बजारमा ग्यासको अभाव सुरु भएको थियो । अभावको समाचार बाहिरिएपछि उपभोक्ता र व्यापारीले ग्यास भण्डारण (स्टक) गर्न थाल्दा बजारमा झनै हाहाकार मच्चिएको थियो । उपभोक्तालाई राहत दिन निगमले आफ्नो पुरानो कार्यालय परिसरबाटै तीन वटा कम्पनीका ग्यास बिक्रीको व्यवस्था मिलाएको थियो ।
जाडो कम हुँदै गएपछि अवस्था सामान्य बन्ने अपेक्षा गरिए पनि सोही क्रममा पश्चिम एसियामा सुरु भएको द्वन्द्वले विश्वभर नै इन्धन आपूर्ति प्रभावित भयो। नेपालमा पनि अवस्था गम्भीर बन्ने देखिएपछि निगम २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णयमा पुगेको थियो, जुन नियम हालसम्म पनि लागू छ ।
ग्यास उद्योगीहरूका अनुसार ग्यास अभाव हुनुमा आफ्नो ढुवानीको साधन नहुनु र भारतीय ढुवानीकर्ताको अनिच्छा पनि मुख्य कारण थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) को तुलनामा निगमले दिने ढुवानी भाडा कम भएको, नेपालको पहाडी बाटोमा गाडी चलाउन गाह्रो र मर्मत खर्च बढी लाग्ने भएकाले भारतीय बुलेट चालकहरू नेपाल आउन मान्दैनन् । भारतको समथर बाटो र दुर्घटना हुँदा त्यहाँको सहज कानुनी तथा बीमा प्रक्रियाले गर्दा उनीहरू नाफा हेरेर उतै चल्न रुचाउने गरेका कारण अभाव सिर्जना भएको थियो ।
यसका साथै, बरौनी रिफाइनरीमा २–३ महिना पहिलादेखि देखिएको प्राविधिक तथा गुणस्तरसम्बन्धी समस्याले पनि लोडिङ प्रभावित भएको थियो । त्यस्तै, नेपालमा शनिबार र भारतमा आइतबार बिदा हुने तथा भारतका सार्वजनिक बिदाहरू (जस्तैः जनवरी २६) नमिलेर हप्तामा ४–५ दिन मात्र भन्सार र लोडिङको काम हुँदा आपूर्ति शृङ्खला टुट्न गई अभाव चुलिएको थियो । पश्चिम एसियामा जारी द्वन्द्वका कारण आपूर्ति प्रभावित हुँदा थप अभाव सिर्जना भयो ।
अर्थ चाैतारी ।