काठमाण्डौ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था लागू गर्दै नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले उक्त सूचना जारी गरेको हो। सूचनाअनुसार सार्वजनिक जीवन र सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने विभिन्न क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेर हड्ताल गर्न निषेध गरिएको छ।
सरकारले डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल र हवाईमार्गबाट यात्री तथा मालसामान ओसारपसार गर्ने यातायात सेवा, सरकारी छापाखाना तथा मुद्रण सेवा, सञ्चार सेवा, खानेपानी वितरण, पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरण, फोहोरमैला व्यवस्थापनलगायतका क्षेत्रमा हड्ताल गर्न रोक लगाएको छ।
यस्तै बैंकिङ तथा वित्तीय सेवा, बीमा सेवा, विद्युत् उत्पादन, प्रसारण र वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन, आपूर्ति तथा वितरण, राहदानी सेवा लगायतका क्षेत्रलाई पनि अत्यावश्यक सेवाको रूपमा कायम गरिएको छ।
सरकारले यी सेवामा अवरोध हुँदा जनजीवन, राष्ट्रिय अर्थतन्त्र, सुरक्षा तथा सार्वजनिक हितमा प्रतिकूल असर पर्ने भएकाले हड्ताल निषेध गरिएको जनाएको छ। सूचना प्रकाशनसँगै सूचीमा समावेश गरिएका सेवामा कार्यरत कर्मचारी तथा श्रमिकले हड्ताल वा सेवा अवरुद्ध गर्ने गतिविधि गर्न नपाउने व्यवस्था लागू भएको छ। सरकारले अत्यावश्यक सेवाको नियमित सञ्चालन सुनिश्चित गर्न यो निर्णय गरिएको स्पष्ट पारेको छ।



अर्थ चाैतारी ।