काठमाण्डौ । वायु सेवाहरूको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति जारी गर्ने तयारी गरेको छ । सन् २०२४ जुलाई २४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको सीआरजे–२०० जहाज दुर्घटनापछि उडान सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरिएको थियो ।
तर हाल प्राधिकरणले उक्त कम्पनीलाई उडान अनुमति दिन लागेको भन्दै आन्तरिक आलोचना बढेको छ । दुर्घटनापछि भएको जाँच प्रतिवेदनले सौर्य एयरलाइन्स र प्राधिकरण दुवैमा गम्भीर कमजोरी देखाएको थियो।आर्थिक समस्या,लोड व्यवस्थापन, भार सुरक्षा, गलत स्पीड कार्ड प्रयोग गरेको तथ्य उजागर भएको थियो। दुर्घटना पछि भएका उडान सुरक्षा अडिटहरूले उडान अनुमति प्राप्त गर्न आवश्यक अङ्क पूरा नभएको बेला सुधारको मौखिक आश्वासन कै भरमा उडान अनुमति दिन लागेको भन्दै प्राधिकरणभित्रै विरोध भइरहेको छ ।
एक पूर्व महानिर्देशक तथा उडान सुरक्षा विज्ञले भने, ‘यात्रुको सुरक्षालाई जोखिममा पारेर उडान सुरक्षा सम्झौता गर्नु गलत हो। यो निर्णयले प्राधिकरणको उडान सुरक्षा प्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ ।’ निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णको कार्यभार पछि उडान सुरक्षा हेर्ने जिम्मेवारीमा निर्देशक विक्रम राज गौतम छन् ।
उनलाई नियुक्त गरिए सँगै यो काम ले गति पाएको प्राधिकरण स्रोत बताउँछ । गौतम एभिएसन सेक्युरिटीका ज्ञाता भएपनि एभिएसन सेफ्टिमा कम अनुभव भएका व्यक्ति हुन् ।
यो प्रकरणले नेपालको उडान सुरक्षा प्रणालीको कमजोरीलाई उजागर गरेको छ । उडान सुरक्षा विशेषज्ञका अनुसार, दुर्घटनापछि सौर्य एयरलाइन्सले आवश्यक सुधार र सुरक्षा मापदण्ड पूरा नगरेको अवस्थामा उडान अनुमति दिनु जोखिमपूर्ण छ । उनी थप्छन्,’कुन इन्टेन्सले प्राधिकरण यो निष्कर्षमा पुग्यो त्यो अनुसन्धानको विषय हो ।’
अर्थ चौतारी ।