logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • इराकमा किन खुलाइयो श्रम स्वीकृति ?

    इराकमा किन खुलाइयो श्रम स्वीकृति ?

    1K
    SHARES
    इराकमा किन खुलाइयो श्रम स्वीकृति ?

    काठमाण्डौ । सरकारले इराकमा गएर फर्केका नेपालीका लागि फेरि इराक जान श्रम स्वीकृति खुला गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त देशमा एक पटक गएर फेरि फर्किन चाहेका नेपालीका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा भएको उक्त निर्णयमा भनिएको छ– ‘इराकबाट नेपाल आएर पुनः फर्किन चाहने इराकको आधिकारिक भिसा तथा वैध ‘रेसिडेन्सी कार्ड’ भएका नेपाली कामदारलाई आवश्यक प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्रदान गर्ने’ ।



     

    इराकलाई नेपालले सन् २००४ देखि द्वन्द्वग्रस्त मुलुकको सूचीमा राख्दै आएको थियो । इराकमा १२ जना नेपालीको हत्या भएपछि वैधानिक रूपमा श्रम स्वीकृतिमा रोक लगाएको थियो । तर, दुई दशकभन्दा बढी समयदेखि इराकमा श्रम स्वीकृति लिएर जान पाइने भएको हो ।

     

    किन गरियो यो निर्णय ?

    दुई दशकसम्म नेपाल आधिकारिक रूपमा जान रोक लगाए पनि लुकीछिपी गएका नेपाली अहिले पनि इराकमा प्रशस्त छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैर आवासीय नेपालीसँगको समन्वयमा गरेको अध्ययनले उक्त देशमा हाल करिब ३० हजार कामदार रहेको देखिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे बताउँछन् । त्यहाँ रहेका धेरैजसोले निर्माण, सेवा क्षेत्र र विभिन्न अन्तर्राष्ट्रिय कम्पनी,अमेरिकी सैन्य क्याम्प लगायत सुरक्षित स्थानमा काम गरेको पाइएको उनको भनाइ छ ।

     

    तर, त्यहाँ गएका नेपालीहरू फेरि फर्किनेगरी नेपाल आउन पाइरहेका थिएनन् । यसको कारण नेपालबाट श्रम स्वीकृति नदिइनु र अवैध रूपमा भारतको बाटो हुँदै पुग्नुपर्ने बाध्यता हो । यही अवस्थालाई अन्त्य गर्न यो प्रस्ताव मन्त्रिपरिषद्समक्ष पठाइएको प्रवक्ता घिमिरेको भनाइ छ । ‘हामीले श्रम स्वीकृति दिनुपर्ने भनेको श्रमिकको रोजगारी र सुरक्षाको प्रत्याभूतिको लागि हो । रेसिडेन्सी कार्डले यसको ग्यारेन्टी गर्ने भएकोले त्यसलाई रोक्नुपर्दैन भनेर यस्तो प्रस्ताव पठाइएको हो’ घिमिरे भन्छन्,’ ‘यसले गर्दा इराकमा जाने नेपाली कति छन् भनेर थाहा पाउन पनि सजिलो हुन्छ ।’

     

    श्रम स्वीकृति नपाउँदा उनीहरूले रोजगारी गुमाउने जोखिम बढेको भन्दै लामो समयदेखि समस्या समाधानको माग गर्दै आएका थिए। सरकारको निर्णयपछि श्रम स्वीकृति लिएर इराक जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषअन्तर्गत मृत्यु वा अङ्गभङ्गको अवस्थामा आर्थिक सहायता समेत पाउनेछन् जनाइएको छ । अर्कोतर्फ यसले वैध प्रणालीबाट कमाएको पैसा स्वदेश पठाउने बाटो समेत खुला हुनेछ ।

     

    यद्यपि अहिलेसम्म मन्त्रिपरिषद्को निर्णयको व्यहोरा मन्त्रालयसम्म आइसकेको भने छैन । निर्णय प्राप्त भएपछि विभाग हुँदै वैदेशिक रोजगार कार्यालयहरूलाई पत्राचार हुने त्यसपछि श्रम स्वीकृति खुला हुने मन्त्रालयले जनाएको छ । नयाँ कामदारलाई भने इराक जान खुला गरिएको छैन ।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट