logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • लिटमस इन्डिजट्रिजकाे आम्दानी र नाफा घटे पनि ‘लिटमस २.०’ मार्फत आक्रामक बजार विस्तारको लक्ष्य

    लिटमस इन्डिजट्रिजकाे आम्दानी र नाफा घटे पनि ‘लिटमस २.०’ मार्फत आक्रामक बजार विस्तारको लक्ष्य

    780
    SHARES
    लिटमस इन्डिजट्रिजकाे आम्दानी र नाफा घटे पनि ‘लिटमस २.०’ मार्फत आक्रामक बजार विस्तारको लक्ष्य

    काठमाण्डाै । नेपाली केवल र वायर बजारको परिचित नाम लिटमस इन्डिजट्रिज लिमिटेडकाे व्यापार आर्थिक वर्ष २०२५ मा १२ प्रतिशतले खुम्चिएकाे छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०२४ मा ३ अर्ब ४४ करोड ५० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२५ मा ३ अर्ब २ करोड ८० लाख रुपैयाँमा झरेको हाे । मुख्यतया सरकारी टेन्डरमा आधारित बिक्रीमा आएको गिरावटले आम्दानीमा यो प्रभाव देखिएको हो ।



    आम्दानीको ट्रेन्ड हेर्दा आर्थिक वर्ष २०२२ मा २ अर्ब ३८ करोड ३० लाख रुपैयाँ रहेको व्यापार २०२३ मा उल्लेख्य बढेर ३ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुगेको थियो । यद्यपि, २०२५ मा खुम्चिएको आम्दानीका बाबजुद कम्पनीले १२ करोड १० लाख रुपैयाँ बराबरको सकारात्मक नगद सञ्चित गर्न सफल भएको छ । व्यापारको आकारसँगै कम्पनीको नाफा गर्ने क्षमतामा पनि दबाब देखिएको छ। आर्थिक वर्ष २०२४ मा ९.६१ प्रतिशत रहेको सञ्चालन मुनाफा मार्जिन २०२५ मा घटेर ६.७९ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, खुद नाफा मार्जिन पनि अघिल्लो वर्षको २.२० प्रतिशतबाट सामान्य घटेर २.०० प्रतिशत कायम भएको छ ।

    ऋणको भार र ऋण सेवा क्षमताको पाटोमा भने केही चुनौती थपिएका छन्। आर्थिक वर्ष २०२४ मा १.८८ गुणा रहेको ऋण र पूँजीको अनुपात २०२५ मा बढेर २.०५ गुणा पुगेको छ । यस्तै, ऋण सेवा कभरेज अनुपात पनि अघिल्लो वर्षको १.३० गुणाबाट घटेर २०२५ मा ०.७६ गुणामा झरेको छ, जुन १ भन्दा कम हो ।

    लुम्बिनी विद्युत उद्योगको नाममा सन् १९७८ जुलाई १० मा स्थापना भएको यस उद्योगलाई सन् २०२२ जुलाई १४ मा लिटमस इन्डिजट्रिज लिमिटेडमा परिवर्तन गरिएको हो । यो कम्पनी नेपालको प्रतिष्ठित व्यापारिक घराना रमेश ग्रुपको मुख्य उद्योग हो, जसमा सुशील गुप्ता र रोहित गुप्ताको समान ३९.८६ प्रतिशत र अवसर इक्विटी फण्डको २० प्रतिशत लगानी रहेको छ ।

    पछिल्लो आर्थिक वर्षमा व्यवसायिक संकुचन झेल्नुपरे पनि भविष्यमा आक्रामक बजार विस्तारको रणनीति लिएको छ। बुटवल औद्योगिक क्षेत्रमा कारखाना रहेको यस उद्योगले हाल ४ अर्ब रुपैयाँको लगानीमा ‘लिटमस २.०’ परियोजना मार्फत आफ्नो उत्पादन क्षमतालाई आधुनिक र बृहत बनाउने योजना अघि सारेको हो।

    यस परियोजनाको पहिलो चरण (प्याकेज ‘ए’) सम्पन्न भई सन् २०२५ अगस्टदेखि उत्पादन सुरु भइसकेको छ। बाँकी चरणहरू सन् २०२६ र २०२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले कम्पनीको बजार हिस्सा र उत्पादन विविधीकरणमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।

    कम्पनीले हालै ८ अर्ब ६७ करोड ३ लाख रुपैयाँ बराबरको कर्जा सीमाका लागि इन्फोमेरिक्स नेपालमा रेटिङ्ग गराएको छ । रेटिङ्ग एजेन्सीले कम्पनीको दीर्घकालीन अवधिको ४ अर्ब २७ करोड ८ लाख रुपैयाँ कर्जाका लागि ‘डबल बी प्लस’ र अल्पकालीन अवधिको ८ अर्ब ४० करोड ५ लाख रुपैयाँ कर्जाका लागि ‘एफाे प्लस’ रेटिङ्ग दिएको छ ।

    एसीएसआर कन्डक्टर, एबीसी केवल र हाउस वायर उत्पादन गर्दै आएको यस उद्योगले नेपाल विद्युत प्राधिकरणका टेन्डर र देशव्यापी डिलर सञ्जाल मार्फत आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । कच्चा पदार्थ आयातमा निर्भरता र अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका कारण कम्पनीको नाफा प्रभावित हुने जोखिम भने कायमै देखिन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट