काठमाण्डौ । तीन दशक लामो यात्रामा मजदुरद्वारा न बन्द-हड्ताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । ‘मजदुरमैत्री’ उद्योगको पहिचान बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्ना कर्मचारीलाई ६ करोडभन्दा बढी रकम बोनस बाँडेर खुसी थपेको छ ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा कर्मचारीलाई ६९ दिन बराबरको ६ करोड २ लाख ४७ हजार ९६३ रुपैयाँ बोनस वितरण गरिएको छ । कम्पनीले खुद नाफामा बढोत्तरी भएसँगै कर्मचारीलाई दिने बोनस पनि करिब ५ सय प्रतिशतले बढाएको हो । वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ करोड १ लाख ८ हजार ३१६ रुपैयाँ बोनस वितरण गरिएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीमा कार्यरत जनशक्तिको पारिश्रमिकमा ११ करोड ६० लाख ३३ लाख १९८ रुपैयाँ खर्च भएको छ । यो रकम अघिल्लो वर्षको भन्दा ५५ लाख ८० हजार ९१४ रुपैयाँले बढी हो ।
रिलायन्स उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा स्थापित छ । कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् । उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ । उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेवर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ ।
रिलायन्सले गत आर्थिक वर्षमा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ रहेको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा कम्पनीको खुद नाफामा ८४५ प्रतिशतले वृद्धि भएको देखिन्छ । कम्पनीको कूल नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ४२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल नाफा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
एक महिनाअघि मात्र आईपीओ निष्काशन प्रक्रिया सम्पन्न गरी धितोपत्र बजारमा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्स पछिल्लो समय निरन्तर नाफामा गइरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ । माघ अन्तिम साता सार्वजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर नेटवर्थ पनि बढेर ४९० रुपैयाँ ५४ पैसा पुगेको छ ।
२०५४ सालमा स्थापित रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्यान समूहको अभिन्न अंगको रुपमा रहेको छ । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।
रिलायन्सको नेतृत्व हाल गोल्यान समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्यानले गरिरहेका छन् । यस उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८२४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुइवटा धागो कारखाना रहेका छन् ।
अर्थ चाैतारी ।