बेइजिङ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले सन् २०२६ को पहिलो दुई महिनामा वैदेशिक व्यापारमा अप्रत्याशित सफलता हात पारेको छ। वासिङ्टनसँगको बढ्दो तनाव र विभिन्न व्यापारिक प्रतिबन्धका बाबजुद चिनियाँ सामानको विश्वव्यापी मागमा तीव्र वृद्धि देखिएको हो।
चिनियाँ भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनवरी र फेब्रुअरी महिनामा निर्यात २० प्रतिशतले वृद्धि भएको छ। नयाँ वर्षको छुट्टीका कारण हुने व्यापारिक उतारचढावलाई सन्तुलनमा राख्न चीनले यी दुई महिनाको तथ्याङ्कलाई संयुक्त रूपमा सार्वजनिक गर्ने गर्दछ। यस पटकको वृद्धिले विश्वका प्रमुख अर्थशास्त्रीहरूलाई समेत अचम्ममा पारिदिएको छ, किनकि उनीहरूले निकै न्यून वृद्धिको प्रक्षेपण गरेका थिए।
चीनको आन्तरिक बजार हाल घरजग्गा कारोबारमा आएको गिरावट, न्यून उपभोक्ता खर्च र घट्दो जनसंख्या जस्ता गम्भीर समस्यासँग जुधिरहेको छ। यस्तो अवस्थामा विदेशी निर्यात नै चिनियाँ अर्थतन्त्रलाई गति दिने मुख्य आधार बनेको छ। विशेषगरी इलेक्ट्रोनिक्स सामान, कृषि उत्पादन र मेसिनरी वस्तुहरूको माग बढेकाले निर्यातमा उल्लेख्य सुधार आएको हो।
तथ्याङ्क अनुसार युरोपेली देशहरूसँगको व्यापार २७.८ प्रतिशतले बढेको छ भने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको समूह (आसियान) तर्फको निर्यातमा झन्डै ३० प्रतिशतको बढोत्तरी देखिएको छ। यसले चीनले बिस्तारै अमेरिकी बजारको विकल्पमा अन्य क्षेत्रहरूमा आफ्नो पकड बलियो बनाउँदै लगेको पुष्टि गर्छ।
अमेरिका र इरान युद्धको छाया
एकातिर निर्यात बढेको देखिए पनि अमेरिकासँगको व्यापारिक सम्बन्ध भने थप चिसिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा लगाएको भारी महसुल र व्यापार असन्तुलन सुधार्ने कडा नीतिका कारण अमेरिकातर्फको निर्यातमा १० प्रतिशतभन्दा बढीको गिरावट आएको छ। ट्रम्प आगामी अप्रिलमा चीन भ्रमणमा जाने र चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेट्ने कार्यक्रम तय भएको छ, जसलाई विश्वले निकै चासोका साथ हेरेको छ।
यसैबीच, पश्चिम एसियामा जारी इजरायल–इरान युद्धले विश्वव्यापी ऊर्जा बजारमा पारेको प्रभावको सामना समेत चीनले गरिरहेको छ। ऊर्जा आपूर्तिमा आएको अवरोधका बीच पनि चीनले आफ्नो उत्पादन क्षमता र निर्यातको गतिलाई कायम राख्न सफल भएको छ।
आर्थिक लक्ष्यमा निर्यातको दबाब
चीनले यस वर्षका लागि ४.५ देखि ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ, जुन गत वर्षको ५ प्रतिशतको लक्ष्यभन्दा केही कम हो। गत वर्ष पनि चीनले निर्यातको बलमै आफ्नो लक्ष्य भेटाउन सफल भएको थियो। आन्तरिक बजारमा देखिएको मन्दीका कारण बेइजिङले यस वर्ष पनि निर्यातलाई नै आर्थिक वृद्धिको प्रमुख इन्जिन बनाउने रणनीति लिएको देखिन्छ।
अर्थ चाैतारी ।