logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • कोशी प्रदेशको अर्धवार्षिक बजेट समीक्षाः बहुवर्षे दायित्व मात्रै २० अर्ब बढी

    कोशी प्रदेशको अर्धवार्षिक बजेट समीक्षाः बहुवर्षे दायित्व मात्रै २० अर्ब बढी

    728
    SHARES
    कोशी प्रदेशको अर्धवार्षिक बजेट समीक्षाः बहुवर्षे दायित्व मात्रै २० अर्ब बढी

    विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको औंल्याएको छ ।



    विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको अर्थवार्षिक प्रगति समीक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश सरकारले लक्ष्यअनुसार न त राजस्व सङ्कलन गर्न सकेको छ, न त विनियोजित विकास बजेट नै खर्च गर्न सकेको छ ।

    अर्धवार्षिक अवधिमा प्रदेशको समग्र बजेट खर्चको अवस्था अत्यन्त न्यून देखिएको छ भने आन्तरिक राजस्वमा आएको गिरावटका कारण सरकारले बजेटको आकार नै संशोधन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

    चालु आर्थिक वर्षका लागि सुरुमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको कुल बजेट विनियोजन गरिएको थियो । तर, पहिलो छ महिनाको कार्यसम्पादन र स्रोत प्राप्तिको कमजोर अवस्थालाई मध्यनजर गर्दै सरकारले यसलाई परिमार्जन गरी ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारेको छ । यो भनेको प्रारम्भिक बजेटको तुलनामा झण्डै १० प्रतिशतको कटौती हो । बजेटको संशोधित अनुमानमा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र आन्तरिक राजस्व दुवैमा संकुचन आउने प्रक्षेपण गरिएको छ । विशेषगरी संघीय सरकारले राजस्व संकलनको लक्ष्य घटाएका कारण प्रदेशले पाउने समानीकरण अनुदानमा समेत करिब ९ प्रतिशतले कटौती हुने देखिएपछि बजेटको आकार खुम्च्याइएको हो ।

    प्रदेशको आन्तरिक राजस्व सङ्कलनको अवस्था यसपटक निकै निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा प्रदेशको आन्तरिक राजस्व गत वर्षको सोही अवधिको तुलनामा २०.३३ प्रतिशतले ऋणात्मक देखिएको छ । सवारी साधन कर, घरजग्गा रजिष्ट्रेसन शुल्क र यातायात क्षेत्रको आम्दानी जस्ता मुख्य क्षेत्रमा लक्ष्यअनुसार प्रगति हुन सकेको छैन । सवारी साधन करको वार्षिक लक्ष्य १ अर्ब ८४ करोड रुपैयाँ राखिएकोमा पुस मसान्तसम्म जम्मा ५७ करोड ७४ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । यस्तै, घरजग्गा रजिष्ट्रेशन शुल्क पनि लक्ष्यको तुलनामा निकै कम छ । राजस्वमा आएको यो गिरावटका पछाडि भदौ महिनामा भएको ‘जेन जेड’ आन्दोलनले यातायात र मालपोत कार्यालयहरूमा पुर्‍याएको भौतिक क्षति र सेवा प्रवाहमा आएको अवरोधलाई मुख्य कारण मानिएको छ । यसका साथै स्थानीय तहले संकलन गर्ने दहत्तर बहत्तर शुल्क र मनोरञ्जन कर समयमा बाँडफाँट नगर्दा पनि प्रदेशको कोषमा चाप परेको छ ।

    खर्चको पाटोलाई विश्लेषण गर्दा विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्चको अवस्था झनै दयनीय देखिएको छ । पुस मसान्तसम्ममा कुल १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा जम्मा १ अर्ब ७० करोड ३६ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन विनियोजित बजेटको ९.९६ प्रतिशत मात्र हो । गत आर्थिक वर्षको तुलनामा करिब ३३ प्रतिशतले पुँजीगत खर्चमा गिरावट आएको छ ।
    यसले प्रदेशमा सञ्चालित ठुला पूर्वाधार आयोजनाहरूको गति अत्यन्तै सुस्त रहेको पुष्टि गर्दछ । अर्कोतर्फ चालू खर्चको अवस्था भने १९.३० प्रतिशत रहेको छ, जुन गत वर्षको तुलनामा ३९.८९ प्रतिशतले न्यून हो । समग्रमा पुस मसान्तसम्मको कुल खर्च विनियोजनको १६.८४ प्रतिशतमा सीमित भएको छ । गत वर्षको अर्थवार्षिक खर्चको तुलनामा यो वर्षको खर्च ३१.०९ प्रतिशतले कमी हो ।

    मन्त्रालयगत खर्चको विवरण हेर्दा कोशी प्रदेशका महत्त्वपूर्ण मन्त्रालयहरूको कार्यसम्पादन सन्तोषजनक देखिँदैन । सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० अर्ब ६३ करोडको बजेटमध्ये जम्मा १०.२९ प्रतिशत मात्र खर्च गरेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयले २३.१९ प्रतिशत, सामाजिक विकास मन्त्रालयले २६.५९ प्रतिशत र उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १९.०७ प्रतिशत खर्च गरेका छन् ।

    यसैबीच प्रदेश सरकारका सामु बहुवर्षीय आयोजनाहरूको दायित्वले ठुलो आर्थिक संकट निम्त्याउने सङ्केत गरेको छ । प्रतिवेदनअनुसार कोशी प्रदेशमा हालसम्म स्वीकृत भएका बहुवर्षीय आयोजनाहरूको बाँकी दायित्व २० अर्ब ६१ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

    यसमध्ये सडक पुलका आयोजनामा मात्र १६ अर्ब ५१ करोडभन्दा बढीको दायित्व छ । पर्याप्त स्रोत सुनिश्चित नगरी राजनीतिक दबाबमा योजनाहरू छनौट गर्ने र बहुवर्षीय ठेक्का लगाउने प्रवृत्तिका कारण आगामी वर्षहरूमा नयाँ योजनाहरूका लागि बजेट अभाव हुने जोखिम बढेको छ । मन्त्रालयले स्रोत सहमति नलिई लगाइएका ठेक्काहरूले गर्दा थप बजेट माग भइरहेको र यसले समग्र वित्तीय सन्तुलन बिगारेको उल्लेख गरेको छ ।

    वित्तीय सुशासनको पाटोमा पनि प्रदेश सरकारका विभिन्न निकायहरूमा बेरुजुको चाङ चुलिएको छ । कुल ५ अर्ब ९० करोड ६९ लाख रुपैयाँ बेरुजु फस्यौट हुन बाँकी रहेको तथ्याङ्कले देखाउँछ । सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार विकास मन्त्रालयको १ अर्ब ८८ करोड छ भने खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको १ अर्ब २६ करोड रुपैयाँ छ । असुलउपर गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजुको हिस्सा ठुलो हुनुले प्रदेशको लेखा प्रणाली र खर्च गर्ने प्रक्रियामा गम्भीर त्रुटीहरू रहेको सङ्केत गर्दछ । यद्यपि मन्त्रालयले बेरुजु फस्यौटलाई प्राथमिकतामा राखेको दाबी गरे पनि प्रगति भने सुस्त देखिएको छ ।

    आगामी दिनका लागि सरकारले केही सुधारात्मक रणनीतिहरू अख्तियार गर्ने योजना अघि सारेको छ । विशेषगरी खर्च हुन नसक्ने बजेटलाई चैत १५ गतेभित्र अनिवार्य रूपमा समर्पण गर्नुपर्ने नियम बनाइएको छ । अबदेखि पूर्व तयारी पूरा नभएका र आयोजना बैंकमा सूचीकृत नभएका योजनाहरूलाई बजेटमा समावेश नगर्ने नीति सरकारले लिनेछ ।

    बहुवर्षीय आयोजनाको बाँकी दायित्वलाई पहिलो प्राथमिकतामा राखेर भुक्तानी दिने र नयाँ योजनाहरूमा कडाइ गर्ने मन्त्रालयको तयारी छ । साथै, संघीय सरकारबाट प्राप्त हुने अनुदानको सदुपयोग गर्न र आन्तरिक राजस्व सङ्कलनका लागि दायरा विस्तार गर्ने विषयलाई पनि जोड दिइएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट