logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतपछि पुनः विद्युत् उत्पादन सुरु

    ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतपछि पुनः विद्युत् उत्पादन सुरु

    884
    SHARES
    ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतपछि पुनः विद्युत् उत्पादन सुरु

    काठमाण्डौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा अवस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्र मा मर्मतसम्भार कार्य सम्पन्न भएपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ। २१ दिनसम्म प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी गरिएको प्राविधिक तथा सिभिल संरचनासम्बन्धी जटिल कार्य निर्धारित समयमै सम्पन्न भएपछि उत्पादन पुनः सुरु भएको हो।



    नेपाल विद्युत् प्राधिकरण अन्तर्गत सञ्चालित यो केन्द्र क्षमताका आधारमा तेस्रो र वार्षिक विद्युत् उत्पादनका दृष्टिले दोस्रो ठूलो जलविद्युत् केन्द्र मानिन्छ। केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव ७ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म भने २९३ दशमलव ५ गिगावाट घण्टा विद्युत् उत्पादन भइसकेको केन्द्रले जनाएको छ।

    केन्द्रका प्रमुख कपिलदेव मानजन का अनुसार दीर्घकालदेखि थाती रहेका जटिल र चुनौतीपूर्ण प्राविधिक कामहरू यस पटकको सटडाउन अवधिमा सम्पन्न गरिएको हो। विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय भाग तथा डिसेन्डर नजिकैको कटानका कारण जोखिममा परेको संरचनाको संरक्षण कार्य सम्पन्न गरिएको छ।

    यसैगरी विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचनाको मर्मत गरी पुनः सञ्चालनयोग्य बनाइएको छ। यो संरचना सुरुङमा बालुवा छिर्न नदिन महत्वपूर्ण मानिन्छ। मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौंदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य समेत यही अवधिमा सम्पन्न गरिएको मानजनले जानकारी दिनुभयो।

    साथै विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहालिङ कार्य केन्द्रकै कर्मचारी तथा अन्य जलविद्युत् केन्द्रका प्राविधिकहरूको सहभागितामा सम्पन्न गरिएको थियो। बाँध क्षेत्रमा सिभिल मर्मतका कामलाई तीव्र बनाउन तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो।

    कम बहाव भएको समयमा उत्पादनमा न्यून प्रभाव पर्ने गरी मर्मत योजना बनाइएको केन्द्रले जनाएको छ। साथै सटडाउन अवधिमा एलटी टाइप ब्रेकर बदलीलगायत आवश्यक इलेक्ट्रिकल तथा मेकानिकल मर्मतका कार्य पनि सम्पन्न गरिएको छ। यस मर्मतपछि केन्द्रको उत्पादन क्षमता थप सुधार हुने र प्राविधिक जोखिम कम हुने अपेक्षा गरिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट