काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विधिवत रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । फागुन २८ गते सोमबार बसेको नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछि बोल्दै अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य र विधान अनुरूप संस्थालाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास र सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष करण चौधरीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै उप्रेतीको नेतृत्वमा नाडा र समग्र अटोमोबाइल क्षेत्रको उत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडाको तीन जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका छन् । मनोनीत हुनेहरूमा महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी रहेका छन् ।
नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै अन्य पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आगामी दिनमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण र नीतिगत सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रेस विज्ञप्ति मार्फत जनाइएको छ।
अर्थ चाैतारी ।