काठमाण्डौ । नेपाल–भारत उद्योग वाणिज्य महासंघ (निक्की) र आईसीटी फाउन्डेसन नेपालले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र स्टार्टअप इकोसिस्टम सुदृढ पार्न सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।निक्कीका महानिर्देशक केएम सिंह र आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले आज निक्की सचिवालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरे।
निक्कीका अध्यक्ष सुनील केसीका अनुसार, यस सहमतिले दुई संस्थको संयुक्त पहलमार्फत नेपालमा नवप्रवर्तन, डिजिटलाइजेसन र उद्यमशीलता प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कदम प्रतिनिधित्व गर्दछ। यस सहमतिअन्तर्गत निक्की र आईसीटी फाउन्डेसन नेपालले डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा स्टार्टअप विकासलाई प्रवद्र्धन गर्ने प्लेटफर्महरू सिर्जना गर्न सहकार्य गर्नेछन्। सहकार्यको प्रमुख उद्देश्य आईसीटी क्षेत्रमा देखापरेका नयाँ प्रवृत्ति, प्रविधि र अवसरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त वार्षिक प्रमुख (फ्ल्यागशिप) कार्यक्रम आयोजना गर्ने आईसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए।
यस सहकार्यले भारत तथा अन्य देशका आईसीटी विज्ञहरूसँगको संलग्नता सहज बनाउने, नीति अनुसन्धान तथा सिफारिसलाई समर्थन गर्ने, र ज्ञान आदान–प्रदानलाई प्रोत्साहन गर्नेछ। दुवै संस्थाले क्षेत्रगत प्रतिवेदनसहितका अनुसन्धान प्रकाशनहरूमा पनि सहकार्य गर्ने योजना बनाएका छन्। यस सहकार्यले प्रमाणमा आधारित नीति निर्माणलाई सुदृढ गर्न र नेपालको आईसीटी उद्योगलाई विश्व बजारमा स्थापित गर्न मद्दत गर्नेछ।
दुवै संस्थाका प्रतिनीधिहरूले यो साझेदारी अर्थपूर्ण र फलदायी हुने विश्वास व्यक्त गर्दै यसले नेपालको आईसीटी इकोसिस्टमको दीर्घकालीन विकासमा योगदान पुर्याउने र डिजिटल अर्थतन्त्रमा अवसर खोज्न युवा उद्यमीहरूलाई प्रेरित गर्ने बताएका छन्।
आईसीटी फाउन्डेसन नेपालले विगत एक दशकभन्दा बढी समयदेखि देशभर डिजिटलाइजेसन, नवप्रवर्तन र उद्यमशील विकास प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। नीति वकालत, क्षमता अभिवृद्धि कार्यक्रम तथा इकोसिस्टम विकासमार्फत फाउन्डेसनले नेपालको बढ्दो प्रविधि क्षेत्रलाई समर्थन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
यस्तै, द्विराष्ट्रिय चेम्बरका रूपमा निक्कीले आफ्नो स्टार्टअप तथा प्राइभेट इक्विटी समितिमार्फत शैक्षिक संस्था, उद्योग र निजी क्षेत्रका सरोकारवालाहरूसँग संलग्न हुँदै आईसीटी तथा स्टार्टअप इकोसिस्टमलाई समर्थन गर्दै आएको छ। यो साझेदारीले निक्कीका उद्देश्यहरूलाई थप अघि बढाउने र नेपालको आईसीटी क्षेत्रको दिगो वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अर्थ चौतारी ।