logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • कोरिया पठाउनुपर्ने माग राख्दै ईपीएस शाखा कार्यालयमा प्रदर्शन

    कोरिया पठाउनुपर्ने माग राख्दै ईपीएस शाखा कार्यालयमा प्रदर्शन

    1.6K
    SHARES
    कोरिया पठाउनुपर्ने माग राख्दै ईपीएस शाखा कार्यालयमा प्रदर्शन

    काठमाण्डौ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोमा रहेको ईपीएस कार्यालयमा विरोध प्रदर्शन सुरु भएको छ । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले पुन: विरोध प्रदर्शन थालेका हुन् ।



     

    दुई महिनाअघि समेत उनीहरूले कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन गरेका थिए । त्यो बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत युवाबीच सहमति भएको थियो । तर, दुई महिना बित्दासमेत सरकारले केही नगरेको भन्दै उनीहरू पुन: प्रदर्शनमा उत्रिएका हुन् । ईपीएस शाखा कार्यालयमा २ सयभन्दा बढी संख्यामा रहेका युवाले नाराबाजी गरिरहेका छन् ।

     

    भाषा र सिप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । भाषा परीक्षा पास गरेर कोरिया जाने प्रतीक्षामा रहेको २ वर्ष हुन लाग्दा समेत जान नपाएको भन्दै उनीहरूले सरकारमाथि आरोप लगाउँदै आएका छन् । सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएका कारण कोरिया जान पाएका छैनन् ।

     

    कोरियामा कामदार पठाउन थप विज्ञापन र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ । सरकारले भने उनीसँगै यसअघि भएको सहमति अनुसार उनीहरूका मागलाई कोरिया सरकार समक्ष पेस गरिएको जनाएको छ । ईपीएस शाखा कार्यालयकी निर्देशक बिन्दा आचार्यले युवाको माग नेपाल सरकारले सम्बोधन गर्न नसक्ने खालको रहेको बताइन् ।

     

    उनीहरूले अघि सारेका माग कोरियाली सरकारमा पेस गरिएको र उताको सरकार सकारात्मक रहेको बताइन् । ‘उहाँहरूले तीन सूत्रीय माग राख्नुभएको छ, ती माग नेपाल सरकारले सम्बोधन गर्न सक्ने खालका छैनन्,’ आचार्यले भनिन्, ‘सरकारले ती माग कोरियाली सरकारकोमा पठाएको छ, कोरियाली सरकार सकारात्मक देखिएको छ ।’

     

    उनीहरूले रोस्टरको म्याद थप्नुपर्ने, आफूहरूले सेक्टर चेन्ज गरेर जान पाउनुपर्ने र आफूहरूको फाइल रोजगारदातासम्म पुर्‍याउनुपर्ने माग राख्दै आएका छन् । ती माग कोरियाली सरकारबाट मात्रै सम्बोधन गर्न सकिने निर्देशक आचार्यको भनाइ छ । सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा १ लाखभन्दा बढी नेपाली कार्यरत छन् ।

     

    कोरियाले सन् २०२४ को तुलनामा २०२५ मा बढी श्रमिक लगेको शाखाले जनाएको छ । २०२४ मा ९ हजार २ सय हाराहारी लगेकोमा २०२५ मा ११ हजार २ सयजति नेपाली ईपीएस मार्फत कोरिया गएको निर्देशक आचार्यले बताइन् ।


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट