logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • कर्णालीमा बल्ल ‘हाई भोल्टेज’ बिजुली : कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

    कर्णालीमा बल्ल ‘हाई भोल्टेज’ बिजुली : कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

    1K
    SHARES
    कर्णालीमा बल्ल ‘हाई भोल्टेज’ बिजुली : कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

    सुर्खेत । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशमा लामो समयदेखिको प्रतीक्षाको विषय बनेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएको करिब तीन साताभित्रै आयोजना निर्माण सम्पन्न भई माघ १८ गते मध्यरातदेखि प्रसारण लाइन चार्ज भएको हो ।



    पुसको तेस्रो साता सुर्खेत पुगेर शाक्यले ठेकेदार कम्पनी र आयोजना प्रमुखलाई तत्काल काम सक्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि ठेकेदारले कामको गति बढाउँदा तोकिएको समयमै कर्णालीले पहिलो पटक १३२ केभी क्षमताको गुणस्तरीय बिजुली पाएको छ । प्रसारण लाइन सञ्चालनमा आएपछि पुनः सुर्खेत पुगेका शाक्यले यो सफलतासँगै कर्णालीका उपभोक्ताले अब गुणस्तरीय विद्युत उपभोग गर्न पाउने र वर्षौंदेखिको विद्युत समस्या समाधान हुने बताए ।

    यसअघि ३३ केभी प्रसारण लाइनबाट मात्र विद्युत् आपूर्ति हुँदा कर्णालीमा बारम्बार लाइन जाने (ट्रिपिङ), ओभरलोड हुने र ‘लो–भोल्टेज’ का कारण बत्ती मधुरो बल्ने समस्या थियो । १३२ केभी लाइन सञ्चालनमा आएसँगै यी समस्या हल हुने र कर्णालीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा पठाउनसमेत बाटो खुलेको छ । शाक्यले गुणस्तरीय ऊर्जाको आपूर्तिले कर्णालीमा ठुला उद्योगधन्दा खुल्ने वातावरण बनेको बताए । अर्थतन्त्रको साँचो उद्योग भएको र उद्योगको साँचो ऊर्जा भएको भन्दै उनले अब कर्णालीको आर्थिक विकासको ढोका खुल्ने विश्वास व्यक्त गरे ।

    सन् २०१० (२०६७ साल) देखि नै आफू यो आयोजना र कर्णालीको विद्युत् विकासमा जोडिएको स्मरण गर्दै शाक्यले अबको एक वर्षभित्र दैलेखसम्म पनि प्रसारण लाइन पुर्‍याउने योजना सुनाए । साथै, उनले सुर्खेतको सब–स्टेसन नजिकैको राजमार्ग छेउमा रहेको प्राधिकरणको जग्गामा विद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन निर्माण गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

    आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार करिब ५२ किलोमिटर लामो कोहलपुर–सुर्खेत खण्डको काम जग्गा प्राप्ति, वन क्षेत्रको कटान र स्थानीयको अवरोध छिचोल्दै सम्पन्न भएको हो । करिब ७५ करोड लागतमा सब–स्टेसन र ६५ करोड लागतमा प्रसारण लाइन निर्माण भएको यो आयोजनाले कर्णालीको समग्र विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    सुर्खेतका सबै फिडरहरु यही सब–स्टेसनबाट आपूर्ति हुने व्यवस्था मिलाएर उपयुक्त समयमा आयोजनाको औपचारिक उद्घाटन गरिने प्राधिकरणले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट