logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

    भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

    130
    SHARES
    भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

    काठमाण्डौ । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा लामो समयदेखि देखिएका विभिन्न प्राविधिक तथा व्यापारिक समस्याहरूको पहिचान र स्थायी समाधानका उपायहरू पहिल्याउन सरकारले एक उच्चस्तरीय विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, निर्यातमा देखिएका अवरोधहरूलाई हटाएर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न यो कदम चालिएको हो ।



    नवनियुक्त कार्यदललाई चिया निर्यातका क्षेत्रमा देखिएका विद्यमान समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता भित्र प्रतिवेदन पेस गर्ने समयावधि तोकिएको छ । कार्यदलले समस्याहरूको प्रकृति हेरी तत्काल कार्यान्वयन गर्नुपर्ने, केही समयभित्रै गर्नुपर्ने र नीतिगत सुधारमार्फत गरिने समाधानका सुझावहरू सहितको स्पष्ट खाका सरकारलाई बुझाउनु पर्नेछ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवको संयोजकत्वमा यो कार्यदल गठन गरिएको हो । कार्यदलमा सरकारका विभिन्न महत्त्वपूर्ण मन्त्रालयहरू र सरोकारवाला निकायहरूको प्रतिनिधित्व रहेको छ । कार्यदलका सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू रहेका छन् ।

    चिया निर्यातका प्राविधिक पक्षहरूलाई मसिनो गरी अध्ययन गर्न कार्यदलमा विषयगत विज्ञ र विभागीय नेतृत्वलाई पनि समेटिएको छ । जसमा भन्सार विभागका उप–महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, र नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक सदस्यका रूपमा रहेका छन् । त्यसैगरी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उप–सचिवलाई पनि सदस्यको जिम्मेवारी दिइएको छ । कार्यदलको सदस्य सचिवको भूमिका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकै उपसचिवले निर्वाह गर्नेछन् ।

    नेपाली चिया भारतीय बजारमा जाँदा पटक–पटक गुणस्तर परीक्षण, भन्सार अवरोध र अन्य गैर–भन्सार अवरोधहरूको सामना गर्नुपरेको गुनासो व्यवसायीहरूले गर्दै आएका छन् । यस कार्यदलले ती समस्याहरूको जड पत्ता लगाई भारतसँगको व्यापारिक सन्धि र सम्झौताका आधारमा दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखेको छ । यो कार्यदलको गठनसँगै नेपाली चिया किसान र व्यवसायीहरूले भोग्दै आएका निर्यातजन्य समस्याहरू समाधान भई नेपाली उत्पादनको निर्यातमा सहजता आउने विश्वास सरकारले लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट