एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा आर्थिक वृद्धि घटेर २ दशमलब ४ प्रतिशत कायम रहने प्रक्षेपण गरेको छ । राष्ट्रसङ्घले अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा विश्व आर्थिक वृद्धि २ दशमलब ७ प्रतिशत रहेका थियो ।
विश्वव्यापी कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राज्य अमेरिकामा उच्च ब्याजदर न्यून उपभोक्ता खर्च तथा कमजोर श्रमबजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ।
विकासोन्मुख देशहरू पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरू संकुचित, चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन्।
न्यून आय तथा कमजोर अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन्। साना, टापु तथा विकासशील राज्यहरूको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ।
अर्थ चाैतारी ।