काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा साढे ९ गुणा बढेको हो । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ ।
समिक्षा अवधिमा कम्पनीले १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुल नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने ९।४६ गुणा बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले १ करोड ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको संचालन नाफामा पनि १ करोड ३६ लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । यता, कम्पनीको इम्पेरमेन्ट चार्ज पनि ह्वात्तै घटेको छ । गत आवको तेस्रो त्रैमासमा १३ करोड ४९ लाख बढी थियो । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा कम्पनीको इम्पेरमेन्ट चार्ज ३ करोड ८८ लाख कायम भएको छ । जसले गर्दा खुद नाफामा उल्लेख्य बढोत्तरी आएको हो ।
समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ९ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा र वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १५३ रुपैयाँ ७२ पैसा छ । समिक्षा अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको तेस्रो त्रैमासमा ९।१ प्रतिशत रहेको यस्तो कर्जा यो वर्षको सोही अवधिमा आइपुग्दा भने ७.६१ प्रतिशत कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ७० करोड ९१ लाख रुपैयाँ राखेको छ ।
अर्थ चाैतारी ।