काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार १२.९२ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २०६५.७८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले घटेर ४००.३६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्सेमा उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।
यो दिन लघुवित्त समूह सर्वाधिक ०.५३ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.३३ प्रतिशत, वित्त समूहमा ०.२२ प्रतिशत, अन्य समूहमा ०.१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२७ प्रतिशतको बढोत्तरी आएको छ। आज जीवन बीमा समूह सर्वाधिक २.०१ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह १.३२ प्रतिशतले घट्दा व्यापार समूहमा ०.०१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०५ प्रतिशत, जलविद्युत समूहमा ०.२२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५८ प्रतिशत र लगानी समूहमा ०.३१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँमा किनबेच भएका छन्। यो दिन एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ८ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ६ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७८ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ९ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ८ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ६२ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। उपकार लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन लामो समयको रोक्कापछि कारोबार खुलेको हिमालयन बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा ९.९९ प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ। महुली लघुवित्तका सेयरभाउ पनि ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
अर्थ चाैतारी ।