नेपाल ज्योति -नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताएका छन ।
आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उनले, यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाए । ‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ,’ पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’
सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनले बताए । यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनले बताए ।
कोरोना महामारीका कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’
सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको बताउँदै उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए । ‘कोरोना महामारीको बेलामा सरकारले के गर्याे अब यो भनिरहनु परेन,’ उनले भने, ‘ अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ ।’
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने बताए । आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय नागरिकसँग सामाजिक दुरी कायम राख्दै उनले विकास निर्माण र जनगुनासो सुन्दै आएका छन ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times